नगर खानेपानीमा भएको समस्या तत्काल समाधान गर्न बजारवासीको माग

-


     हिडन खबर    
     असार ३२ गते २०७९ मा प्रकाशित


बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले आगामी पौष मसान्त सम्म स्वच्छ र नियमित खानेपानी खुवाउने प्रतिवद्धता जनाएका छन् । बागलुङ नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि गरेको पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागिको प्रश्नको जवाफ दिँदै नगरबासीलाई आगामी पुष मसान्त सम्म स्वच्छ र नियमित खानेपानी खुवाउने प्रतिवद्धता जनाए । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिका सँग सम्बन्धीत भन्दा पनि सहभागि अधिकांसले नगरको खानेपानीमा भएको समस्या तत्काल समाधान गर्न माग गरेका छन् । उनीहरुले नगरपालिकाले खानेपानीको अभिभावकत्व लिनुपर्ने समेत सुझाब दिएका छन् ।

जवाफमा श्रेष्ठले नगर खानेपानिको निर्माणाधिन काम सक्न समय लाग्ने भएकोले केही ढीला हुने तर काम सक्न चाहिने उपकरणमा नगरपालिकाले सहजीकरण गर्ने बताए । समयमा नै काम सम्पन्न गर्न लगाए अगामी पुषमा शुद्ध खानेपानी धारामा आउने बताए । उनले कैलमपोखरीमा बन्न लागेको लिफ्ट खानेपानी समयमा सम्पन्न नहुने र भोली अहिले जस्तै समस्या हुने भएमा यसको पनि विकल्प सोचिएको बताए ।

बजारवासीले धौलागिरि अस्पतालमा स्वास्थ्य सेवा प्रभावकारी नभएको, सयौं सेवाग्राहीलाई सामान्य जानकारी दिने काम नभएको, खानेपनीको व्यवस्थापन नभएको र आवस्यक दक्ष चिकित्सक घटेको समेत नागरिकले गुनासो गरेका थिए ।

कार्यक्रममा नगरपालिकाले संचालन गरेका पूर्वाधारहरु गुणस्तरहिन भएको केहीले टिप्पणी समेत गरेका थिए भने केहीले ग्रामिण क्षेत्रमा भएको जिर्ण सडकको बारेमा प्रश्न गरेका थिए । बागलुङ बजार क्षेत्रको पहिलो समस्या भनेको खानेपानी र ढल निकास नै हो कार्यक्रममा सहभागी बागलुङ नगरपालिका–१ का डिल्ली प्रसाद गौतमले भने,– यसको समस्या समाधानका लागि नगरपालिका जिम्मेवार बन्नुपर्दछ । उनले नगरपालिकाको बजार क्षेत्रको फोहोर व्यवस्थापन, ढल निकास र खानेपानीको समस्या समाधानको बाटो खोजेर आम नागरिक प्रति उत्तरदायी बन्न उनले आग्रह गरे ।

सहभागीले सदरमुकाम देखि वडा तहमा जोड्ने सडकहरु जीर्ण बन्दै गएकोले पर्यटन, कृषि तथा अन्य क्षेत्रमा पनि प्रभाव परेको गुनासो थियो । कार्यक्रमममा बलेवा विमानस्थल संचालन, निर्माण सम्पन्न भएको बसपार्क संचालन तथा व्यवस्थापन कहिले हुने लगायतका कुराहरु प्रश्न गरेका थिए । आम नागरिककै तर्फबाट प्रश्न गर्दै तित्याङका प्रेम थापाले नगरक्षेत्र तित्याङ सिगाना, भकुण्डे, रायडाँडा र बलेवा क्षेत्र पनि रहेको हुँदा यस क्षेत्रको सडक, खानेपानी लगायतका विषयमा नगरले अलि चासो देखाउनुपर्ने बताएका थिए ।

  श्रेष्ठले नगरपालिका र प्रमुख उपप्रमुख सँग जोडिएर सामाजिक संञ्जालमा गरिएको टिकाटिप्पणी केबल टिप्पणी गर्नकै लागि भएको बताए । उनले आफुहरुले सेवा सुविधानको विषयमा कुनै पनि छलफल नै नगरेको  बताए । 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले आगामी आर्थिक वर्षमा मंसिर मसान्त भित्र सवै योजना सम्झौता भएर काम अगाडी बढ्ने र त्यस भन्दा पछाडी कुनै पनि योजना सम्झौता नहुने बताए ।  ‘अब समयमा योजना सम्झौता गर्ने, समयमा फरफारक गर्ने पद्दती बसाल्ने हो । उनले भने, समयमा काम सक्दा भुक्तानीको समस्या नहुने, अनुगमन प्रभावकारी बन्ने र बेरुजु लगायतका अप्ठ्या समयमा फुकाउन सकिने छ । यो सिष्टम आम उपभोक्ता बाटै सुरुवात गर्नुपर्ने देखिन्छ ।  उनले रातो किताबमा आएका योजना आगामी  साउनबाटै बताए । 


कार्यक्रममा उपप्रमुख राजु खड्का, अस्पतालकी नर्स अधिकृत शान्ति खड्का र खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले जिज्ञाशाको जवाफ दिएका थिए । कार्यक्रममा एमाले नगर अध्यक्ष धनबहादुर परियार, उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ सहित रुद्रबहादुर महत, प्रकाश जिसी, पत्रकार रामप्रसाद घिमिरे, तारानाथ आचार्य, डिल्लीप्रसाद गौतम, जगन्नाथ आचार्य, बद्रीप्रसाद शर्मा लगायतका व्यक्तिले नगरका क्रियाकलाप बारे प्रश्न उठाएका थिए । नगर प्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम उपप्रमुख राजु खड्को स्वागत र पत्रकार पत्रकार राम थापाको सहजीकरणमा सम्पन्न भएको थियो ।