
प्रहरीले किर्ते सहि गरि स्वास्थ्य परिक्षणको प्रमाणपत्र बेच्ने एक जनालाई पक्राउ गरेको छ ।
यातायात व्यवस्था कार्यालय बागलुङ सँग सम्झौता गरि स्वास्थ्य परिक्षणको प्रमाणपत्र बेच्ने अनुमानि पाएको शंकर पोलिक्लिनिकबाट डाक्टरको क्रिर्ते हस्ताक्षर गरि निरोगिताको प्रमाणपत्र बेच्दै गरेको अवस्थामा नवलपरासी (पुर्व) जिल्लाको कावासोती नगरपालिका–९ बस्ने बर्ष २१ का गणेश भण्डारी र उक्त पोलिक्लिनिकका डाक्टर राम अर्याललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
बुधबार दिउँसो डाक्टर अर्याल खानाखान गएको बेलामा भण्डारीले सेवाग्राहीलाई आफैंले हस्ताक्षर गर्दै निरोगिताको प्रमाणपत्र बेचेको सुचना आएपछि प्रहरीले पक्राउ गरेको रानाले बताउनुभयो ।
शंकर पोलिक्लिनिकमा सम्बन्धित चिकित्सकको उपस्थिति विना सेवाग्राहीलाई चेकजाँच गरि भण्डारीले निरोगिताको प्रमाणपत्र बेचेका थिए ।
पोलिक्लिनिकको अवलोकन गर्दा कुनै विवरण नभरिएको तर चिकित्सकको छाप दस्तखत भएको प्रमाणपत्र लगायत छाप, रसिद, स्ट्याम्प प्याड समेत बरामद गरी उक्त कसूरमा नियन्त्रणमा लिई जिल्ला अदालत बागलुङबाट पहिलो पटक दिन ५ (पाँच) को म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।









