
बाग्लुङको काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनामाथि भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खीमबहादुर विकविरुद्ध मुद्दा दर्ता गरेको हो ।
खानेपानी योजना, सडक मर्मतमा ४,९०,२२७|७७ रुपैयाँ अनियमितता गरेको भन्दै अधिकृत विकसहित सबइञ्जिनियर नवीन थापा, असिस्टेन्ट सबइञ्जिनियर सनोज उपाध्याय र लेखापाल खडानन्द कँडेलसहित ११ जनाविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
आयोजनामा अनियमितता भएको भनी उजुरी परेपछि अनुसन्धान गरिएको थियो ।
कर्मचारीको मिलेमतोमा योजनाबद्ध ढंगले सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ को प्रावधानलाई समेत वेवास्ता गरी योजनालाई साना साना टुक्रामा विभाजन गरी, दरभाउ पत्रसमेत नलिई सामान्य निवेदनको भरमा काम भएको भनी नापी किताब तयार एवं भुक्तानी गर्ने कार्य गरी नेपाल सरकारलाई हानी नोक्सानी पुर्याउने देहायका व्यक्तिहरुलाई देहाय अनुसारको सजायको मागदाबी लिइएको अख्तियार दुरुपयोग अनुसन्धानका सहायक प्रवक्ता वेदप्रसाद भण्डारी द्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आयोगको प्रेस विज्ञप्ति जस्ताकोतस्तै
प्रेस विज्ञप्ति:- मिति २०७९।०३।१५, आरोप-पत्र ।
जिल्ला बाग्लुङ, काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर वि.क., सव-इञ्जिनियर तथा उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।
जिल्ला बाग्लुङ, काठेखोला गाउँपालिकास्थित नालढुङ्गा (घुँडेखोला) खानेपानी योजनामा नापी किताब अनुसारको पाइप प्रयोग नगरेको, डुडियाघाट तथा लामाबगरस्थित ह्यूमपाइप निर्माणमा कमसल सामग्री प्रयोग गरेकाले आयोजना कामै नचल्ने गरी बिग्रिएको र डुडियाघाट लामाबगर ह्यूमपाईप आयोजनामा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर वि.क., तत्कालीन सब-इञ्जिनियर नवीन कुमार दास र असिस्टेन्ट सव-इञ्जिनियर सनोज उपाध्यायले सम्झौतामा उल्लेख भएबमोजिम सुपरीवेक्षण गर्न, गुणस्तर कायम गर्न र यथार्थ कार्यको नापजाँचको लागि सम्बन्धित साइट प्राविधिकलाई जिम्मेवारी नतोकी नापी कितावमा सही गरी सहमति जनाई नभए नगरेको कार्यको समेत झुट्टा बिल भरपाई बनाई/बनाउन लगाई गलत मूल्याङ्कनमा प्रत्यक्ष सहभागी भएको, इष्टिमेटबमोजिम नभए नगरेको कार्यको समेत नापी किताव तयार गरी भुक्तानीका लागि सिफारिस गर्ने कार्य गरी लामाबगर ह्यूमपाईप आयोजनामा र डुडियाघाट ह्यूमपाईपमा जम्मा रु.४,९०,२२७।७७ हानिनोक्सानी गरी भ्रष्टाचार गरेको पुष्टि भएको हुँदा निजहरु खिम बहादुर वि.क., नवीन कुमार दास र सनोज उपाध्यायलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ग) र (ङ) बमोजिमको कसुरमा बिगो रु.४,९०,२२७।७७ (चार लाख नब्बे हजार दुई सय सत्ताइस रुपैयाँ सतहत्तर पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय तथा बिगोबमोजिम जरिवाना गरी हानिनोक्सानी भएको बिगोसमेत निजबाट सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम असुल उपर हुन मागदावी लिइएको छ ।
साथै, उपभोक्ता समितिका अध्यक्ष रन बहादुर थापा, सचिव टेक नारायण पुन र कोषाध्यक्ष पार्वती थापाले बाग्लुङ जिल्ला काठेखोला गाउँपालिका लामाबगर ह्यूमपाईप र डुडियाघाट ह्यूमपाईपमा सम्झौताबमोजिम ह्यूमपाईप राख्दा गर्नुपर्ने Plain Cement Concrete (PCC) work, stone masonry wall लगायतका लगत इष्टिमेटमा तोकिएका कामहरु गर्नुपर्नेमा सो नगरी नगराई स्थलगतरुपमा नभएको नगरेको कार्यको समेत झुट्टा बिल भरपाई बनाई बनाउन लगाई भए गरेको कार्यभन्दा बढी नापी कितावमा चढाउन लगाई सोहीबमोजिमको भुक्तानी लिने कार्य गरी लामाबगर ह्यूमपाईप आयोजना र डुडियाघाट ह्यूमपाईपमा रु.४,९०,२२७।७७ हानिनोक्सानी गरी भ्रष्टाचार गरेको पुष्टि भएको हुँदा निजहरु रन बहादुर थापा, टेक नारायण पुन र पार्वती थापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा बिगो रु. ४,९०,२२७।७७ (चार लाख नब्बे हजार दुई सय सत्ताइस रुपैयाँ सतहत्तर पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम कैद सजाय तथा बिगोबमोजिम जरिवाना गरी हानी भएको बिगो निजहरुबाट जफत हुने मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी









