बढ्दो भ्रष्टाचार: शुन्यमा झार्ने भन्देै अभियान सुरु

- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहयोग र भ्रष्टाचार विरुद्ध नागरिक निगरानी संस्थाको आयोजनामा कार्यक्रम सञ्चालन भएको हो ।

-


     राजेशचन्द्र राजभण्डारी     
     असार १२ गते २०७९ मा प्रकाशित


‘हाम्रो चाहना स्वच्छ, पारदर्शी र भ्रष्टाचारमुक्त राज्य संयत्रकाे, सदाचार निष्पक्षता र निर्भिकता’ भन्ने नारासाथ बागलुङमा स्थापना भएको भ्रष्टाचार बिरूद्व नागरिक निगरानी संस्थाले सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।

पछिल्ला वर्षहरूमा राज्यमा एकपछि अर्को भ्रष्टाचारका घटना सार्वजनिक हुँदै गइरहेको समयमा बागलुङ जिल्लालाई भ्रष्टाचार मुक्त जिल्ला बनाउने भन्दै केहि हप्ता अगाडि स्थापना भएको नयाँ संस्थाले जिल्लालाई भ्रष्टाचार मुक्त बनाउने अभियान स्वरुप सचेतना कार्यक्रम आयोजना गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पाेखराकाे सहयोग र भ्रष्टाचार बिरूद्व नागरिक निगरानी संस्था बागलुङको आयोजना भएको कार्यक्रममा भ्रष्टाचार सिंहदरबारबाट गाउँ गाउँमा छिरेको हुँदा यसलाई अन्त्य गर्न समाजका सबै वर्ग जिम्मेवार बन्नुपर्ने धारणा बक्ताहरूले राखेका थिए ।

बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले बागलुङ नगरपालिकालाई भ्रष्टाचार मुक्त बनाउने घाेषणा गरिरहेकाे समयमा जन्मिएको यो संस्थालाई काम गर्न सहज हुने अनुमान समेत गर्न सकिन्छ तर नतिजा हेर्ने भने बाँकी नै छ ।

हरेक क्षेत्रमा भ्रष्टाचार हुन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला-जिल्लामा नागरिक निगरानी संस्था खाेल्ने अभियान सुरु गरेसँगै संस्था मार्फत सचेतनामूलक काम गर्न अगाडि सारेको हो ।

बागलुङ सदरमुकाममा आइतबार आयोजना गरिएको कार्यक्रममा भ्रष्टाचार राेकथाम के कसरी गर्न सकिन्छ भन्ने बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह-सचिव देवीप्रसाद थपलियाले जानकारी गराएका थिए ।

अहिले भ्रष्टाचार जहाँ स्राेत साधन धेरै छन् त्यहाँ बढी हुने गरेको स्पष्ट हुँदाहुँदै पनि अख्तियारले खासै चासो दिन नसकेको आराेप नागरिकबाट उठ्दै गइरहेको समयमा यो संस्था मार्फत प्रभावकारी काम हुनुपर्ने समाजका सदस्य रूद्र बहादुर महतले धारणा राखेका थिए ।

सर्वोच्च अदालतले कालीगण्डकी नदिमा उत्खनन नगर्नु भनेर आदेश दिएपनि दिनरात नदि दाेहन भइरहदा समेत सबै निकाय चुपचाप भएको धारणा राखेका थिए ।

अहिले सबैभन्दा बढी स्थानीय तहकाे सडक, स्वास्थ विकास निर्माणमा भ्रष्टाचार माैलाइरहेकाे हुँदा अहिले गठन भएको संस्थाले बागलुङ जिल्लाकाे १० वटा स्थानीय तहमा पुगेर जनचेतना जगाउने काम गर्नुपर्ने धारणा अर्का बक्ता शालिकराम शर्माले व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पाेखराका उप सचिव देवीप्रसाद थपलिया लगायतका बक्ताहरूले भ्रष्टाचार अन्त्य गर्ने अभियानमा सबै नागरिक सचेत हुन जरुरी रहेको धारणा राखेका थिए ।

कार्यक्रममा सराेकारवाला सबै कार्यालय प्रमुख लाई निमन्त्रणा गरिएको भएपनि धेरैको उपस्थित थिएन । यसबाट के बुझ्न सकिन्छ भने भ्रष्टाचारकाे सवालमा हाम्रो सराेकारवाला निकाय कति जिम्मेवार छन् भन्ने ।

कार्यक्रम भ्रष्टाचार बिरूद्व नागरिक निगरानी संस्थाका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठको अध्यक्षता, सहसचिव मनमाया श्रेष्ठकाे स्वागत र सचिव रामबहादुर केसीकाे संचालनमा सम्पन्न भएको थियो ।