बागलुङ नगरपालिकाको ११ औ नगर सभा सुरु, सबै वडाहरुको सन्तुलित विकास हुने गरी ‘एक वडा एक नमुना पूर्वाधार विकास’ कार्यक्रम

-


     हिडन खबर    
     असार ९ गते २०७९ मा प्रकाशित


बागलुङ बागलुङ नगरपालिकाले सबै वडाहरुको सन्तुलित विकास हुने गरी ‘एक वडा एक नमुना पूर्वाधार विकास’ कार्यक्रम संचालन गर्ने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख बसन्त कुमार श्रेष्ठले वडाहरुको सन्तुलित विकास हुने गरी ‘एक वडा एक नमुना पूर्वाधार विकास’ कार्यक्रम संचालन गर्ने घोषण गर्नु भएको हो ।
श्रेष्ठले मुलपानी–ढिकीचौर–तितौर सडकलार्ई भित्रि चक्रपथ र मालढुङ्गा, नारायणस्थान, पैयुपाटा, अमलाचौर, रायडाँडा, सिगाना र खहरेलाई वाह्य चक्रपथको रुपमा विकास गर्ने र पर्यटन प्रवद्र्धन लागि भैरवस्थान, मुलाबारी, भकुण्डे, रायडाँडा, बौडेचौर, गाजादह क्षेत्रमा साईकल मार्गको निर्माण गर्न पहलको काम अगाडि बढाउने कार्यक्रममा उल्लेख छ। कृषिबाट समृद्धि हाँसिल गर्ने भन्दै नगर कृषि गाडी संचालन गर्ने र दुध, अण्डा, मासु र तरकारीमा नगरलाई आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नगरप्रमुख श्रेष्ठले नगरपालिकाले स्थानीय रुपमा उत्पादन गरिने मदिरालाई सबै स्वास्थ्यका मापदण्ड पुरा गरी बजारीकरण गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिनु भयो । नगरपालिकाले विशेष गरेर दिगो भौतिक पूर्वाधार निर्माण, पर्यटन पूर्वाधारको विकास, वातावरण संरक्षण, नगरवासीको आर्थिक, सामाजिक, साँस्कृतिक उन्नती, सुशासन र संस्थागत विकासलाई मुख्य प्राथमिकता दिइ कार्यक्रमहरु अगाडी ल्याएको छ ।
नगरपालिकाको कार्यालय व्यवस्थापनका लागि व्यवस्थित एवं सुविधा सम्पन्न कार्यालयको व्यवस्था गर्ने, आफ्नै कार्यालय भवन नभएका सबै वडाहरुको क्रमश कार्यालय भवन निर्माण गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।

स्वास्थ्य क्षेत्र तर्फ धौलागिरी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्तरोन्नती र हरि खड्का ट्रमा सेन्टर स्थापनाका लागि पहल गरिने, स्वास्थ्य संस्थामा डेलीभरी, जेष्ठ नागरिकको सेवा, नगर प्रमुख विपन्न नागरिक स्वास्थ्य सहायता कोष लगायतका कार्यक्रम अगाडी सारेको छ । नगर क्षेत्र भित्र रहेका स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधार निर्माण, मर्मत संभार र उपकरण व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गरि स्वास्थ्यकर्मीहरुको क्षमता विकासका कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

खानेपानी तथा सरसफाई तर्फ नगर क्षेत्रभित्र संचालनमा रहेका खानेपानी आयोजनाहरुलाई छिटो सम्पन्न गर्न समन्वय, सहजिकरण गर्ने, नगरपालिका भित्र संचालनमा रहेका खानेपानी आयोजनाहरुको गुणस्तर सुधार लगायतका समग्र खानेपानी व्यवस्थापनमा सहयोग र सहजिकरण गर्ने, खानेपानीको सेवा नपुगेका सबै वडा र बस्तीहरुमा शुद्ध खानेपानीको सुविधा पु¥याउन ‘एक घर एक धारा’को व्यवस्था गरिनेछ र फोहोर व्यवस्थापनलाई तत्कालिन, मध्यमकालिन र दीर्घकालिन योजना बनाई वैज्ञानिक रुपमा व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा छ ।

सामाजिक विकास तथा समावेशिकरण तर्फ २०७९ साललाई बालबालिका वर्ष घोषण गरी सरोकारवाला निकायहरुसँगको सहयोग र समन्वयमा आगामी आर्थिक वर्ष २०७९/८० भित्र बागलुङ नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिने, बालमैत्री नगर घोषणाको लागि निर्धारण गरिएका ५१ वटा सूचक पुरा गर्न आवश्यक भौतिक पूर्वाधार र कार्यक्रमहरुका लागि आवश्यक श्रोत व्यवस्थापन गर्ने, नगर क्षेत्र भित्रका इच्छुक कर्मचारी, शिक्षक, शिक्षिका, सामाजिक परिचालक, संचारकर्मी लगायतका व्यक्तिहरुलाई बालमैत्री स्थानीय शासन सम्वन्धी प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरी विद्यालय तह एवम् समुदायस्तरमा बालमैत्री स्थानीय शासनका विषयमा अभिमूखीकरण कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

संचार तथा सूचना प्रविधि तर्फ नगरपालिकाका विकास गतिविधि, सेवा प्रवाह र सामाजिक परिचालन लगायतका नगरपालिकाबाट सम्पादन हुने कार्यहरुलाइ कार्यालयको वेबसाईट मार्फत प्रकाशन गरिने। नगरपालिकाको गतिविधि र काम कारवाहीका सम्बन्धमा संचारकर्मीहरुसँग नियमित अन्तरक्रिया गरिने, स्थानीय संचार माध्यम र संचारकर्मीहरुको क्षमता विकासको लागि सहयोग गर्ने, पत्रकारिताको माध्यमबाट नगरको विकास र समृद्धिमा उत्कृष्ट योगदान गर्ने संचारगृह र संचारकर्मीलाई सम्मान गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

युवा तथा खेलकुद तर्फ विद्यालय तहबाटै विभिन्न विधाको खेलकुदको अभ्यास र व्यावसायिक खेलाडीहरुको उत्पादन गरिने, एक वडा एक खेल मैदान निर्माणका लागि पहल गरिने, प्रत्येक विद्यालयमा आवश्यकताको आधारमा खेलकुद सामग्रीहरु उपलव्ध गराईने । बागलुङ नगरको खेल क्षेत्रको गौरवको रुपमा खुला नगरस्तरीय बृहत बागलुङ कालिका कप आयोजना गरिने, मेयर कप फुटवल प्रतियोगिता र नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितालाई निरन्तरता दिईने नीति कार्यक्रममा समावेश छ । विहिबारबाट सुरु भएको ११ औ नगर सभा शनिबारसम्म चल्ने छ ।शुक्रबार नगरसभामा बजेट प्रस्तुत गरिने बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिनु भयो ।