विपद व्यवस्थापन तथा उद्धार नमुना अभ्यास सम्पन्न

- गण्डकी प्रदेश प्रहरी, विपद व्यवस्थापन गुल्म बागलुङको आयोजनामा बागलुङमा ३ दिने तालिम सहित विपद व्यवस्थापन सम्बन्धी उद्धार नमुना अभ्यास सञ्चालन गरिएको हो ।

-


     राम प्रसाद घिमिरे     
     असार ६ गते २०७९ मा प्रकाशित


बर्षायाम सुरु भइसकेको छ । देशमा बर्सेनि बर्षाजन्य विपदका कारण घटनामा परि दर्जनौं मानिसको ज्यान जाने गरेको छ भने सयौं घाइते तथा करोडौंका संरचना ध्वस्त हुने गरेको छ ।
देशका हरेक बिपत्तिमा उद्धारका लागी अग्रमोर्चामा खटिने गर्छ नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी ।
प्रहरीले विपदमा उद्धारका लागि विभिन्न तालिमहरु समेत सञ्चालन गरिने गर्छ ।

यसै क्रममा गण्डकी प्रदेश प्रहरी, विपद व्यवस्थापन गुल्म बागलुङको आयोजनामा बागलुङमा विपद व्यवस्थापन सम्बन्धी उद्धार नमुना अभ्यास गरिएको छ ।

जिल्लाको सदरमुकाम बागलुङ बजारमा बागलुङ पर्वत र म्यादीका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरि ३० जनालाई ३ दिने उद्धार प्रशिक्षण तालिम नमुना अभ्यास सहित सम्पन्न गरिएको हो ।

बाढि पहिरो, आगलागी जस्ता प्रकोपमा परी घाइतेको खोजी तथा उद्धारका साथै प्राथमिक उपचारमा समेत के कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कृतिम नमुना अभ्यास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी ईन्द्रबहादुर रानाले बताउनुभयो ।

विपत्ति आइपरेको प्रारम्भिक चरणमा गरिने खोज उद्धार, प्रभावितलाई पुर्याउन सकिने प्राथमिक उपचार सहयोग जस्ता विषयलाई लक्षित गरी नमुना अभ्यास गरिएको थियो ।

विपद व्यवस्थापनका क्रममा बाढी पहिरो तथा आगोलागी नियन्त्रण तथा उद्धार तथा व्यवस्थापन लगायतका नमुना अभ्यास देखाइएको थियो । विपदपछिको खोज तथा उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले कसरी काम गर्छ भन्ने बारेमा ३० जना प्रशिक्षार्थीले नमुना अभ्यास गरेका थिए ।

मौसमजन्य बिपदको समय सुरु भएसँगै हुनसक्ने घटनामा छिटो उद्धार र उपचारकालागि जनशक्ती तयारीका तालिम सहित पर्दशन गरिएको तालिमका प्रशिक्षक एबं गुल्मका प्रहरी नायव निरिक्षक सुर्य सिंह थापाले बताउनुभयो ।

नमुना अभ्यास सम्पन्न भएसँगै आयोजित औपचारिक कार्यक्रममा बोल्दै बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले विपद व्यवस्थापनका सन्दर्भमा तालिम प्राप्त जनशक्ति तयार गर्नु अत्यावश्यक रहेको बताए ।

जिल्ला सबै पालिकामा हुनसक्ने बिपत्ति जन्य घटनाको उद्धारका लागी पुर्ण तयारी गरिसकिएको जिल्ला बिपद व्यवस्थापन कार्यादलका संयोजक समेत रहनुभएका ढकालले बताउनुभयो ।

प्रहरीले बिपद् व्यवस्थापन समितिमार्फत विपद् कार्यदल गठन गरि उनीहरूलाई विपद् आइपरेकालाई खोजी तथा उद्धार कार्यका लागि विभिन्न तालिम सञ्चालन गर्दै आएको छ ।
तालिममा बागलुङ लगाएत छिमेकी जिल्लाका प्रशिक्षार्थीको समेत सहभागी रहेको थियो ।

सोमबार प्रयोगात्मक कृत्रिम नमुना अभ्यासको लागि प्रतिकार्यका लागि ३ दिने तालिम सम्पन्न गर्दै उद्धार नमुना अभ्यास सञ्चालन गरिएको थियो ।