
बागलुङ बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षको लागि उम्मेदवारी दिएका ४ जना मध्ये दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आईतबार अध्यक्षको लागि मनोनय दर्ता गराएका राजन कुमार शाक्य र शशि कपुर श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका हुन् । २ जनाले फिर्ता लिएपछि अब अध्यक्षमा निर्माण कुमार श्रेष्ठ र नरेश कँडेलको उम्मेदवारी कायम रहेको छ ।
मंगलबार बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालयमा आएर शाक्य र श्रेष्ठले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत भुमिश्वर गौतमले बताए । यस अघि मंगलवार विहान ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको भए पनि सहमतिको लागि आज साँझ ५ बजेसम्मको लागि समय थप गरिएको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिए । उद्योगी–व्यवसायीको छाता सङ्गठन बागलुङ उद्योग वाणिज्य संघको आगामी असार ४ गते हुने निर्वाचनमा अध्यक्ष पदमा उद्योग वाणिज्य महाुसंघका पूर्वकेन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ र बागलुङ उद्योग वाणिज्य संघका निवर्तमान महासचिव नरेश कँडेलबिच प्रतिस्पर्धा हुने भएको छ । सदस्यमा उम्मेदवारी दिएका अर्जुन चोखाल, विष्णु राज पन्त, श्रीजय श्रेष्ठ, नविन कुमार श्रेष्ठ, गणेश राज लम्साल, महेन्द्र प्रसाद शर्मा,उमाकान्त शर्मा बाबु, राजेश भारी, इन्द्रमणी पौडेल अर्जुन, विष्णु प्रसाद अधिकारी, दिपक हमाल,भुपाल कार्की, राजु गौतम, संजय कुमार श्रेष्ठ, ईश्वर जंग राजभण्डारी र उद्योग तर्फ निलेश राजभण्डारी, ऋषिराम गौतम र बबिन शाक्यको उम्मेदवारी कायमै रहेको छ ।अध्यक्षसहित १९ जना सदस्यको लागि निर्वाचन हुनु पर्नेमा दुई जना महिला उद्यमी निर्विरोध निर्वाचित भएकोले अध्यक्षसहित २ जना उद्योग सदस्य र १४ जना सदस्यको लागि निर्वाचन हुँदैछ ।निर्वाचनमा १ हजार ४ सय ९० जना मतदाता मतदानमा सहभागि हुँदैछ ।









