साउन १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य छैन

-


     हिडन खबर    
     जेठ २५ गते २०७९ मा प्रकाशित


-काठमाडौँ । यातायात व्यवस्था विभागले साउन १ गतेबाटै सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको स्पष्ट गरेको छ । मंगलबार विज्ञप्ति जारी गरी विभागले साउन १ गतेबाट सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने आशय विभागको नरहेको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘इम्बोस्ड नम्बर प्लेट जडान ऐच्छिक विषय पनि होइन । सीमित समयमा कार्य पुरा गर्नका लागि आगामी दिनमा यो कार्यको गति तीब्र हुन जरुरी छ, सडकमा गुड्ने सबै सवारीमा साउन १ देखि नै इम्बोस्ड नम्बर अनिवार्य छैन ।’

वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीमा इम्बोस्ड नम्बर प्लेटसम्बन्धी व्यवस्था कार्यान्वयन भए/नभएको सम्बन्धमा साउन १ पछि ट्राफिक प्रहरीबाट सडक अनुगमन गरिने विभागको सूचनामा उल्लेख छ । तोकिएअनुसार इम्बोस्ड प्लेट जडान नगरेको पाइए सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुने चेतावनी विभागले दिएको छ । विभागले सूचना निकालेर सेवाग्राहीलाई इम्बोस्ड नम्बर जडानमा ताकेता गरेपछि धेरैले इम्बोस्ड नम्बरको औचित्यमाथि नै प्रश्न उठाएका छन् । इम्बोस्ड नम्बरका लागि प्राविधिक तयारी नगरी जबर्जस्ती इम्बोस्ड नम्बर जडान गराउन नमिल्ने र स्वेच्छाले जडान गर्न पाउनुपर्ने माग यतिबेला चर्को रूपमा उठिरहेको छ ।

१६ महिनामा २४ लाख ७५ हजार इम्बोस्ड नम्बर प्लेट २०७३ जेठ १७ मा भएको ठेक्का सम्झौताअनुसार ५ वर्षभित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर जडान गरिसक्नुपर्ने थियो । तर विभागका अनुसार अहिलेसम्म करिब २५ हजार सवारीमा मात्र जडान भएको छ ।

हाल दुई लाख ५० हजार प्लेट उत्पादन भएर स्टोरमा रहेको विभागले जनाएको छ । इम्बोस्ड नम्बर प्लेट जडानका लागि पनि सबै पूर्वाधार तयार रहेको विभागको दाबी छ ।
सरकारले इम्बाेस्ड नम्बर अनिवार्य भनेपछि काठमाडौमा सवारीसाधन भएका ब्यक्तिहरूले ठुलो सास्ती खेप्नुपरेको कुरा संचार माध्यम बाट सार्वजनिक भएपछि सरकार आफ्नो निर्णय सच्याउन बाध्य भएको देखिन्छ ।