
कास्की ,बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको आयोजनामा त्रिलोकेश्वर शिव मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
धार्मिक तथा पर्यटकीय गन्तव्य त्रिलोकेश्वर शिव मन्दिर परिसरमा बर, पिपल, सिमी, आँप, बेलपत्र, निम, अशोक, डुम्री, गुराँस, अमला, नारेश्वर लगायत विभिन्न फलफूल तथा फूलका बिरुवा रोपिएका थिए।

कार्यक्रम एसोसिएसनको आयोजना तथा त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिको समन्वयमा सम्पन्न भएको हो।कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका–२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन सामाजिक कार्यमा सक्रिय रहेको उल्लेख गर्दै, वृक्षारोपणले मन्दिर परिसरको सौन्दर्य थप उजागर हुने बताए। उनले आगामी दिनमा वडा कार्यालय र एसोसिएसनबीच सहकार्यमा विभिन्न कार्यक्रम गर्न सकिने धारणा व्यक्त गरे।

एसोसिएसनका मानार्थ सदस्य तथा सल्लाहकार केशव बहादुर खत्रीले शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा पनि एसोसिएसनले सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रम गर्दै आएको जानकारी दिए। उनले रोपिएका बिरुवाको संरक्षणका लागि एसोसिएसनको तर्फबाट सक्दो सहयोग रहने बताए।एसोसिएसनका अध्यक्ष बुद्धि बहादुर कुँवरले वार्षिक कार्यक्रमअन्तर्गत संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै पर्यावरण संरक्षणका लागि वृक्षारोपण गरिएको बताए। साथै उनले पोखरा–२८ वासीलाई बुद्ध विशाल बजारमा आएर किनमेल गर्न आग्रह गरे।कार्यक्रममा त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिका सल्लाहकार राधिका पौडेल, गाउँ सुधार समूहका कोषाध्यक्ष तथा बुद्धिजीवी माधव प्रसाद पौडेललगायतले मन्तव्य राखेका थिए।

अध्यक्ष कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष तथा संयोजक मनोहरी पौडेलले स्वागत मन्तव्य राखेका थिए भने महासचिव थमनसिंह गुरुङले सञ्चालन गरेका थिए।
कार्यक्रममा एसोसिएसनले मन्दिर समितिलाई दुई थान डस्टबिन हस्तान्तरण गरेको थियो। वृक्षारोपण कार्यक्रममा सम्पूर्ण गाउँवासीको उपस्थिति रहेको थियो भने आवश्यक बिरुवा बन कार्यालय कास्कीबाट उपलब्ध गराइएको थियो।











