
बागलुङ ,नेपाल पत्रकार महासङ्घको केन्द्रीय निर्णयअनुसार नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले शुक्रबार जिल्ला प्रशासन कार्यालय बागलुङको मूल गेट अगाडि धर्ना कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा सहभागी पत्रकारहरूले “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संवैधानिक हकको रक्षा गर” तथा “सूचना र विज्ञापन सम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेज गर” भन्ने मागसहितका प्लेकार्ड बाेकेर धर्नामा बसेका थिए।
पत्रकार महासङ्घले लोकतन्त्रको आधार स्तम्भका रूपमा रहेको स्वतन्त्र प्रेसमाथि हुने कुनै पनि प्रकारका हस्तक्षेप, विभेद र अंकुशप्रति सचेत रहँदै नागरिकलाई सुसूचित गर्ने अधिकारको संरक्षण गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ
यसअघि पनि महासङ्घले विभिन्न जिल्लामा प्रेस स्वतन्त्रता र सूचना अधिकारका सवालमा कार्यक्रम गर्दै आएको छ। बागलुङमा सम्पन्न धर्ना कार्यक्रमलाई पत्रकारहरूले लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्ने अभियानको निरन्तरता भएको बताएका छन्।











