
काठमाडौं । एमाले स्थायी कमिटीका सदस्य घनश्याम भुसालले स्थानीय तहको निर्वाचनमा पार्टीले क्षति ब्यहाेर्नु पर्नुको पछाडि एमाले अध्यक्ष केपी शर्मा आेली नै प्रमुख कारक भएको भनेर आलोचना गरेपछि कार्वाहीकाे सुचिमा परेका छन् ।
नेकपा एमालेको अनुशासन आयोगका अध्यक्ष केशव बडालले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई विधान बमोजिम कारबाही गर्न सिफारिस गरेको प्रष्ट पार्नुभएको छ ।
भुसालले पार्टी महाधिवेशन र अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकाले भुसाललाई पार्टी विधान बमोजिम कारबाही गर्न सिफारिस गरेको बताउनुभयो । ‘हाम्रो सचिवालयको बैठक बस्यो । बैठकले पार्टी हित विपरीत गएकाले एक जना स्थायी कमिटी नेतालाई कारबाहीको सिफारिस गरेको छ’, बडालले भन्नुभयो ।
पार्टी विधान बमोजिम आवश्यक कारबाहीको निर्णय भने पार्टी कमिटीबाट हुने उहाँले जानकारी दिनुभएको छ ।
‘पार्टीमा बसेर पार्टीको विरुद्धमा, अध्यक्षको विरुद्धमा, महाधिवेशनको विरुद्धमा र नीतिको विरुद्धमा गयो भने केशव बडालमाथि पनि त्यस्तै कारबाही हुन्छ’, अध्यक्ष बडालले भन्नुभयो । स्थानीय चुनाव पछि भुसालले एक अन्तर्वार्ता मार्फत अध्यक्ष ओलीको आलोचना गर्नुभएको थियो ।









