६८ वर्ष पुगेका नेताहरू काम गर्न छोडेर भत्ता खाएर बस्न विमला राई पाैड्यालकाे सुझाव

-


     हिडन खबर    
     जेठ १७ गते २०७९ मा प्रकाशित


काठमाण्डाै – सरकारले बजेट भाषण मार्फत सामाजिक सुरक्षा भत्ता वितरणको लागि २ बर्ष उमेर घटाएपछि यतिबेला सकारात्मक नकारात्मक दुबै खालको प्रतिक्रिया आइरहेको छ ।
संघीय संसद अन्तर्गत राष्ट्रिय सभामा मङ्गलवारदेखि आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल प्रारम्भ भएको छ । बजेट माथि आफ्नो धारणा राख्ने सांसदहरूले यतिबेला आफ्नो तर्क पेश गरिरहेका छन् ।६८ बर्ष उमेरको कुरा गरेर भत्ता बाड्ने सरकारका प्रमुख नै यो उमेर हद पार गरिसकेका ब्यक्ति भएको भन्दै भत्ता खाएर बस्न व्यग्य गरेका छन् ।

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले सरकारले वृद्ध भत्ताको उमेर हद दुई वर्ष घटाएर ६८ पुर्‍याएकाेमा आपत्ति जनाउनुभएकाे छ । देश आर्थिक संकटमा फसिरहेको बेलामा सरकारको यो निर्णयले देशलाई नै आर्थिक भार बढाउने उहाँले बताउनुभयो ।

उहाँले पाँच महिना बाँकी हुँदा सरकारले देशमा आर्थिक दायित्व थपेको आरोप लगाउँदै भन्नुभयो , ‘जति औसत आयु बढ्दै जान्छ, त्यति भत्ता पाउने उमेर बढाउनुपर्छ । प्राकृतिक नियम त्यो हो । तर हाम्रोमा नियम पछाडि दौडेको छ । दुई वर्ष घटाइएको छ । यो घटाउँदा कति आर्थिक दायित्व पर्छ भन्ने कुरा थाहा छैन । अर्को सरकारले क्रमशः ६५, ५५ बनाउँछु भन्यो भने के गर्ने ? भोट माग्ने राजनीति न भएको छ । अहिले जुन काम गर्न नसक्ने भनेर ६८ राख्नुभएको छ, प्रधानमन्त्रीज्यू अस्ति नै पुगिसक्नुभएछ ६८ त । अरू शीर्ष नेताहरू सबै ६८ वर्ष पुगिसक्नुभएको छ । उहाँहरू सबैले काम गर्न छोडेर भत्ता खाएर बस्नुस्, काम गर्न सक्नुहुन्न भने । पाँच महिनाको सरकारले यसरी दायित्व थप्न मिल्छ ? यो उमेर घटाउने बेला हो ? बरु सामाजिक सुरक्षाको अन्य दायरा बढाउनु पर्छ । राष्ट्रपति उत्थान कार्यक्रमले सुत्केरी सेवामा एकदम राम्रो गरिरहेको छ, यसको बजेट घटाइएको छ, यसलाई विस्तार गर्नुपर्छ ।’