
देशमा स्थानीय तह निर्वाचन २०७९ सम्पन्न भइसकेको छ ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम करिबकरिब आइसकेको छ । बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा मतगणना जारी छ ।
नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तहको निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा जनतामा खासगरी राष्ट्रिय राजनीतिक दलको वर्तमान अवस्थाको मूल्याङ्कन भइरहेको छ ।
यस निर्वाचनमा मतदाताले युवा र अघिल्लो निर्वाचनको कामको मूल्याङ्कन गरी विशेषतस् दुई मान्यता स्थापित गर्न खोजेको देखिन्छ । देशको राजधानीमा अवस्थित नेपालको सबैभन्दा पुरानो र ठूलो महानगर काठमाडौँ महानगरपालिकामा पहिलो पटक मतदाताले राष्ट्रिय राजनीतिक दलभन्दा बाहिरबाट स्वतन्त्र हैसियतका युवा बालेन्द्र साहलाई विजयी गराएका छन् ।
यो मतदाताले स्थापित गर्न खोजेको युवा नेतृत्व मात्र नभएर देशका ठूला राजनीतिक दलले विगतका राम्रो नेतृत्व महानगरमा दिन नसकेका परिणामको नतिजा भएको विश्लेषण गरिएको छ तर काठमाडौँ महानगरसँगै जोडिएको ललितपुर महानगरपालिकामा भने मतदाताले अघिल्लो कार्यकालका तथा त्योभन्दा पनि ६५ वर्षका चिरिबाबु महर्जनलाई चुनेका छन् ।
साथै राजधानी बाहिर हेर्दा धरान र धनगढी उपमहानगरपालिकामा पनि मतदाताले स्थापित दल बाहिरबाटै युवा नेतृत्वको चयन गरेका छन् । यसरी सम्पन्न स्थानीय निर्वाचनमा मतदाताले दलभन्दा पनि कामलाई प्राथमिकता दिएको सन्देशका रुपमा लिन सकिन्छ ।
नेपाली काङ्ग्रेसलाई फलदायी:
देशभरको हालसम्म प्राप्त मतपरिणाम अनुसार कांग्रेस सबैभन्दा ठुलो पार्टी भनेको छ । नेपाली काङ्ग्रेसबाट २०७४ सालको स्थानीय निर्वाचनमा भन्दा २०७९ को निर्वाचनमा २ हजार २ सय ८१ जना बढी जनप्रतिनिधि निर्वाचित भएका छन् ।
काङ्ग्रेसबाट कुल १३ हजार ७ सय ३७ जना जनप्रतिनिधि निर्वाचित भएका छन् जबकि यसअघिको २०७४ स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट ११ हजार ४ सय ५६ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।
एमालेलाई क्षतिपूर्ण:
नेकपा एमालेलाई भने २०७९ को निर्वाचन क्षतिपुर्ण देखिएको छ । २०७४ को स्थानीय निर्वाचनमा १४ हजार १ सय जना जनप्रतिनिधि निर्वाचित भएको एमाले २०७९ मा आउँदा ११ हजार ८ सय ७२ मा खुम्चिएको छ । पहिलो निर्वाचनमा भन्दा दोस्रो निर्वाचनमा २ हजार २ सय २८ जनप्रतिनिधिको सिट गुमाएको हो ।
माओवादीलाई क्षतिपूर्ण:
नेकपा माओवादी केन्द्रका लागि पनि २०७९ को निर्वाचन क्षतिपुर्ण नै देखिएको छ । केन्द्रले अघिल्लो निर्वाचनमा भन्दा यस निर्वाचनमा ३९६ सिट गुमाएको छ ।
२०७९ को निर्वाचनमा माओवादी केन्द्रबाट ५ हजार ४४ जना जनप्रतिनिधि निर्वाचित भएका छन जबकि २०७४ सालमा ५ हजार ४ सय ४० जनप्रतिनिधि निर्वाचित भएका थिए ।
२०७९ को स्थानीय तहको निर्वाचनमा अन्य दल तथा स्वतन्त्र गरी ४ हजार ४८ जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख गरिएको छ ।
गत वैशाखमा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसबाट १४० प्रमुख, ११० उपप्रमुख, १८८ अध्यक्ष, १९० उपाध्यक्ष, २ हजार ६ सय ६१ वडाध्यक्ष, २ हजार ६ सय महिला सदस्य, २ हजार ५ सय ४७ दलित महिला सदस्य र ५ हजार ३ सय १ वडा सदस्य निर्वाचित भएका छन् ।
एमालेबाट ८२ प्रमुख, ११३ उपप्रमुख, १२३ अध्यक्ष, १२६ उपाध्यक्ष, २ हजार १२७ वडाध्यक्ष, २ हजार ३४० महिला सदस्य, २ हजार २८५ दलित महिला सदस्य र ४ हजार ६७६ वडा सदस्य निर्वाचित भएका छन् ।
कूल निर्वाचित जनप्रतिनिधिका आधारमा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।
माओवादीबाट २५ नगर प्रमुख, ३३ उपप्रमुख, ९६ पालिका अध्यक्ष, ९५ उपाध्यक्ष, १ हजार ५३ वडा अध्यक्ष, ९६३ महिला सदस्य, ९७३ दलित महिला सदस्य र १ हजार ८ सय ६ वडा सदस्यमा जना निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रबाट ४ हजार ३ सय ४८ जना निर्वाचित भएको आयोगले जनाएको छ ।
६ महानगरका प्रमुख र उपप्रमुख, ११ उपमहानगरका प्रमुख र उपप्रमुख, २७६ नगरपालिकाका प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाका वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८६ वडा सदस्य गरी कूल ३५ हजार २२१ पदका लागि निर्वाचन भएको थियो । यस निर्वाचनमा १ लाख ४५ हजार जनाको उम्मेदवारी परेको थियो ।









