
बडिगाड गाउँपालिकाले पालिका भित्रका विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन पहल थालेको छ ।
गाउँपालिका- ७ टुनिबोट स्थित जनक आधारभूत विद्यालयमा विज्ञान र कम्प्युटर प्रयोगशालाको स्थापना गरिएको छ ।
बिहीबार गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले दुबै प्रयोगशालाको उद्घाटन गर्नुभएको हो ।
उक्त अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष अधिकारीले शिक्षालाई व्यवहारिक र दक्ष जनशक्ति उत्पादन गर्ने क्षेत्रको रुपमा बिकास गर्न गाउँपालिका भित्र अन्य बिद्यालयहरुमा पनि क्रमश प्रयोगशालाको स्थापना गर्दै जाने प्रतिबद्धता व्यक्तगर्नुभयो ।
२१ औं शताब्दीको शिक्षालाई प्रविधिसँग जोड्नु अनिवार्य रहेकाले यसको प्रभावकारी प्रयोगमा विशेष जोडदिनुपर्ने अध्यक्ष अधिकारीको भनाइ रहेको थियो ।
प्रयोगात्मक उपकरण सहित प्रयोगशालाको स्थापनाले शिक्षणसिकाई क्रियाकलाप थप प्रभाकारी एवं उपलब्धिमूलक बन्ने अध्यक्ष अधिकारीले बताउनुभयो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विज्ञानकाे प्रयोगात्मक ज्ञानकालागि विज्ञान प्रयोगशाला र कम्यूटरको प्रयोगात्मक शीपकाे बिकासका लागी कम्प्युटर प्रयोगशालाको स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक डिल्लीराज आचार्यले बताउनुभयो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ६ लाख ५० हजारबाट कम्प्युटर प्रयोगशालाका लागि १२ थान कम्प्युटर तथा १ थान प्रोजेक्टर र गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको २ लाखबाट विज्ञान प्रयोगशालाका लागि टेलिस्कोप लगायत सामाग्रीको जडान गरिएको बिद्यालयले जनाएको छ ।
विद्यालयमा प्रयोगशाला नहुँदा विद्यार्थीकालागि आवश्यक पर्ने प्रयोगात्मक कक्षा सञ्चालन गर्न निकै समस्या थियो ।
विज्ञान प्रयोगशाला र कम्प्युटर प्रयोगशाला स्थापना भएसँगै १ सय भन्दा बढी विद्यार्थी लाभान्वित हुने भएका छन् ।
प्रयोगशाला उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक सघंका पदाधिकारी, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।









