बडिगाडमा अध्यक्ष र उपाध्यक्षको पदभार ग्रहण, पहिलो निर्णय: पालिका सहित सबै वडामा मेलमिलाप केन्द्र

- नि:शुल्क स्वास्थ्य बिमा, बालविकास केन्द्रको व्यवस्थापन

-


     हिडन खबर    
     जेठ ९ गते २०७९ मा प्रकाशित


बागलुङको बडिगाड गाउँपालिकामा सोमबार नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाका नबनिर्वाचित अध्यक्ष गण्डकी थापा अधिकारीलाई निवर्तमान अध्यक्ष मेहरसिहं पाइजाले अध्यक्षको कार्यकक्षमा माला, दोसल्ला एवं खादा लगाईदिएर अध्यक्षको पदभार हस्तान्तरण गर्नुभएको हो ।

त्यस्तै पालिकाका नवनिर्वाचित उपाध्यक्ष भिमसेन वनलाई निवर्तमान उपाध्यक्ष अम्मर बहादुर श्रीषले उपाध्यक्षको कार्यकक्षमा माला, दोसल्ला एवं खादा लगाइदिएर उपाध्यक्षको पदभार हस्तान्तरण गर्नुभएको हो ।

वैशाख ३० गतेको निर्वाचनमा पाँच दलीय गठवन्धनको तर्फबाट पालिकामा अध्यक्ष र उपाध्यक्ष नै विजयी भएको थियो ।

गाउँपालिकाको १० वटा वडामा निर्वाचित उपाध्यक्ष लगायत ५१ जना जनप्रतिनिधिहरुलाई अध्यक्ष अधिकारीले पद तथा गोपनियताको सफत समेत खुवाउनु भएको थियो ।
पहिलाे निर्णय:गाउँपालिका र दशवटै वडामा मेलमिलाप केन्द्रको स्थापना
गाउँपालिकामा र पालिकाका सवै वडाहरुमा मेलमिलाप केन्द्रको स्थापना गरिने भएको छ ।
स्थानीय विवादहरुको दिगो र प्रभावकारी रुपमा समाधान गर्ने संयन्त्रबाट सम्पादन गरिने कामलाई व्यवस्थित गराउन मेलमिलाप केन्द्र स्थापना गरिने गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक भिमसेन बनले जानकारी दिनुभइ ।

“मेलमिलाप सम्बन्धी कार्यसञ्चालन तथा व्यवस्थापनमा एकरुपता कायम गरी न्यायमा समुदायको सहज पहँच अभिवृद्धि गर्न प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरेने छ”, उपाध्यक्ष बनले भन्नुभयो, “समुदायमा हुने विवादलाई न्यायिक समितिबाट वडामा सञ्चालित मेलमिलाप केन्द्रमा आवद्ध मेलमिलापकर्ताले सहजीकरण गरी दुवै पक्षहरूको सुमधुर सम्बन्ध स्थापित गर्न सहयोग पुग्नेछ “

उपाध्यक्ष बनका अनुसार स्थानीयस्तरमा शान्ति, सौहार्दता र मेलमिलाप कायम गरी स्थानीय विकास प्रकृयालाई टेवा पुर्याउन महिला, दलित, आदिवासी, जनजाति, मुस्लिम, पिछडा वर्ग, सीमान्तकृत समुदायको सशक्तिकरण गरी सहभागितामूलक तरिकाबाट विवाद समाधान गर्न सहयोग गरी समाजमा न्याय, मानवअधिकार र नागरिक हितको सम्वर्द्धनमा मेलमिलाप केन्द्रले सहयोग पुग्ने विश्वास गरिएको छ ।
वडा स्तरमा समाधान हुन नसकेका विवादहरुलाई गाउँपालिकाबाट समाधान गरिने उपाध्यक्ष बनले जानकारी दिनुभयो ।

दोस्रो निर्णय: नि:शुल्क स्वास्थ्य बिमा
पदभार ग्रहण कै पहिलो दिन महत्त्वपूर्ण निर्णय गरिएको छ । गाउँपालिका भित्रका स्वास्थ्य बिमा गर्न छुटेका नागरिकहरुलाई गाउँपालिकाको तर्फबाट बिमा गरिने निर्णय गरिएको पालिकाका नवनिर्वाचित वडा अध्यक्ष अधिकारीले बताउनुभयो । ” स्वास्थ्य सेवा सहज रुपमा पाउनु आम नागरिकको नैसर्गिक अधिकार हो, सरकारले लागू गरेको स्वास्थ्य बिमामा विभिन्न कारणले छुटेका पालिका भित्रका नागरिकलाई बिमा गरिने छ ।

तेस्रो निर्णय: बालविकास केन्द्रको व्यवस्थापन

गाउँपालिका भित्रका प्रारम्भिक सिकाई केन्द्र बालविकासहरुको व्यवस्थापन गरिने भएको छ ।
अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गरेको पहिलो निर्णयमा बालविकास केन्द्रको व्यवस्थापन गरिने निर्णय गरेको अध्यक्ष अधिकारीले बताउनुभयो ।
“बालबालिका भनेको भबिस्यका कर्णधार हुन, उनिहरुको सिकाइ प्रभावकारी हुनुपर्ने भएकाले बालविकास केन्द्रहरुलाई आवश्यक शैक्षिक सामाग्री सहित व्यवस्थापन गरिने छ “