
बागलुङको बडिगाड गाउँपालिका अध्यक्षमा कांग्रेसकी गण्डकी अधिकारी थापा विजयी भएकी छिन् । थापाले ७ हजार ३ सय ८६ मत ल्याएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका राजन पाइजाले ५ हजार ८ सय १४ मत ल्याएका छन् । थापा १ हजार ५ सय ७२ मत अन्तरमा विजयी भएकी हुन् । विजयी थापा जिल्लामै प्रमुख पदमा पुग्ने पहिलो र एक मात्रै महिला हुन् र थापा नेपाली कांग्रेस बागलुङको जिल्ला सचिवको जिम्मेवारीमा पनि छन् ।
गत स्थानीय निर्वाचनमा एमालेका मेहरसिंह पाइजासँग पराजित भएकी थापा दोस्रो पटक पाइजाका छोरा राजनलाई पराजित गरेकी हुन् । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका भीमसेन वन ७ हजार २ सय ३१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मिनकुमारी रायमाझीले ५ हजार ८ सय मत पाइन् । गत निर्वाचनमा वन पनि पराजित भएका थिए । वन १ हजार ४ सय ३१ मत अन्तरमा विजयी भएका हुन् ।
बडिगाडका १० वटा वडामध्ये कांग्रेसले ३ वडा जितेको छ । गठबन्धनकै तर्फबाट माओवादीले २ र राजमोले २ वडा जितेको छ भने एमालेले ३ वडा जितेको छ ।









