
पर्वत । पर्वतको जलजला गाउँपालिका–स्थित फर्सेका बाढीपीडित परिवारलाई खाद्यान्न, कम्बल तथा म्याट्रेस वितरण गरिएको छ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के (एमडी ३२५), नेपाल एलवाई २०२६/०२७ को आयोजना तथा लायन्स क्लब्स इन्टरनेशनल फाउन्डेसन (एलसीआईएफ) को सहयोगमा शुक्रबार राहत सामग्री वितरण गरिएको हो ।
एलसीआईएफको ग्रान्ट एएमआर २९३६४–३२५ के अन्तर्गत सञ्चालित कार्यक्रममार्फत बाढीबाट घरबारविहीन भएका परिवारलाई खाद्यान्न, न्यानो कम्बल र म्याट्रेस प्रदान गरिएको आयोजकले जनाएको छ । विपद्बाट प्रभावित परिवारलाई राहत पुर्याउँदै दैनिक जीवनयापनमा सहजता ल्याउने उद्देश्यले सामग्री वितरण गरिएको हो ।

गत असोज १० र ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले जलजला गाउँपालिका–फर्से क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो । बाढीबाट करिब ८० घरपरिवार प्रभावित भएका थिए भने २५ घर बगाएको विवरण सार्वजनिक भएको थियो ।

बाढीले घर, जग्गाजमिन तथा घरभित्रका खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्रीसमेत बगाएपछि प्रभावित परिवार विस्थापित भएका थिए । विभिन्न सरकारी निकाय, सामाजिक संघसंस्था, स्थानीयवासी तथा देशविदेशमा रहेका नेपालीको सहयोगमा राहत तथा अस्थायी बसोबासको व्यवस्था गरिए पनि प्रभावित परिवार अझै सामान्य जनजीवनमा फर्किन संघर्षरत छन् ।
यस्तो अवस्थामा लायन्स इन्टरनेशनल र एलसीआईएफको सहयोगमा गरिएको राहत वितरणले प्रभावित परिवारलाई थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।










