जैमिनीमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, १० विद्यालयका विद्यार्थी सहभागी हुने

-


     सुजन आचार्य     
     मंसिर ११ गते २०८३ मा प्रकाशित


बागलुङ । बागलुङको जैमिनी नगरपालिकामा नगरस्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्र बारदेखि सुरु हुने भएको छ। मंसिर ११ देखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाभित्रका १० वटा विद्यालयका विद्यार्थी सहभागी हुनेछन्।

विद्यार्थीमा रहेको खेल प्रतिभाको पहिचान, खेलकुदको विकास तथा प्रतिस्पर्धात्मक भावनाको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगितामा छात्र तथा छात्रा भलिबल, कबड्डी, तेक्वान्दो, दौड, रिले दौड, त्रिपल जम्प, हाइजम्प, लङजम्प, ज्याभलिन थ्रो र सटपुटलगायतका खेल समावेश गरिएको छ।

मंसिर ११ गते तेक्वान्दो, छात्रा भलिबल तथा १००, २०० र ८०० मिटर दौड र १०० मिटर रिले प्रतियोगिता सञ्चालन हुनेछ। मंसिर १२ गते ४००, १५०० मिटर दौड, ४०० मिटर रिले, छात्र भलिबल, कबड्डी, ज्याभलिन थ्रो र सटपुट खेल हुनेछन्।

त्यस्तै, मंसिर १३ गते त्रिपल जम्प, हाइजम्प, लङजम्प, कबड्डी र छात्र भलिबल प्रतियोगिता सञ्चालन गरिनेछ।