जैमिनीमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, नगरप्रमुख पुनद्वारा उद्घाटन

-


     सुजन आचार्य     
     मंसिर १२ गते २०८३ मा प्रकाशित


खेलाडीलाई आत्मविश्वासका साथ उत्कृष्ट प्रदर्शन गर्न नगरप्रमुख पुनको आग्रह

बागलुङ । बागलुङको जैमिनी नगरपालिकामा नगरस्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। नगरपालिकाभित्रका १० विद्यालयका विद्यार्थी सहभागी प्रतियोगिताको उद्घाटन नगरप्रमुख नरबहादुर पुनले गर्नुभएको हो।

उद्घाटन समारोहमा नगरप्रमुख पुनले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्ने बताउनुभयो। उहाँले हारजितलाई सामान्य रूपमा लिँदै आत्मबल बढाएर आफ्नो क्षमताअनुसार उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई आग्रह गर्नुभयो।

नगरपालिकाका उपप्रमुख हरिहर शर्माले सबै विद्यालयको सहभागिताले प्रतियोगिताको महत्त्व बढाएको उल्लेख गर्दै खेलाडीलाई सफलताको शुभकामना दिनुभयो।

त्यस्तै, वडा अध्यक्ष विष्णु आचार्यले खेलकुदले विद्यार्थीमा एकता, आपसी सद्भाव र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने बताउनुभयो। जैमिनी बाल सञ्जालकी पुन थापाले विद्यार्थीको प्रतिभा पहिचान र प्रवर्द्धनमा यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।

प्रतियोगितामा नगरपालिकाभित्रका १० विद्यालयका विद्यार्थीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्नेछन्। विद्यालय तहबाटै खेल प्रतिभा पहिचान तथा विकास गरी जिल्लास्तरीय र राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने प्रतियोगिताको उद्देश्य रहेको छ।
कार्यक्रमको सञ्चालन नगरपालिकाकी शिक्षा शाखा प्रमुख मीरा शर्माले गर्नुभएको थियो।