जैमिनीमा आमा समूहका पदाधिकारीलाई नेतृत्व विकास तथा भाषणकला तालिम

-


     हिडन खबर    
     मंसिर १० गते २०८३ मा प्रकाशित


बागलुङ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीसेरामा आमा समूहका पदाधिकारीलाई भाषणकला, नेतृत्व विकास तथा प्रभावकारी सञ्चार सीपसम्बन्धी तालिम प्रदान गरिएको छ ।

महिलाको नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै सार्वजनिक रूपमा आफ्ना विचार व्यक्त गर्ने र प्रभावकारी सञ्चार गर्ने सीप विकास गर्ने उद्देश्यले जैमिनी नगरपालिकाले तालिम आयोजना गरेको हो ।

तालिमको पहिलो दिन बुधबार जैमिनी नगरपालिका–१, २, ४ र ५ का आमा समूहका पदाधिकारी सहभागी भएका थिए ।

तालिममा नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भाषणकला, प्रमुख प्रशासकीय अधिकृत रमेश पाण्डेले सञ्चार सीप र गणेश महतले नेतृत्व विकाससम्बन्धी विषयमा सहजीकरण गरेका थिए ।

नगर कार्यपालिका सदस्य भगवती सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन देवी सुनारले गरेकी थिइन् ।

अभियानअन्तर्गत अन्य वडाका आमा समूहका पदाधिकारीलाई समेत लक्षित गरी तालिमसहित विभिन्न सचेतनामूलक गतिविधि सञ्चालन गरिने रोजगार संयोजक सुरेश पुनले जानकारी दिए ।