बागलुङमा राष्ट्रिय कर सप्ताह : करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

-


     सुवास आचार्य     
     मंसिर ५ गते २०८३ मा प्रकाशित


बागलुङ, मंसिर ४ । राष्ट्रिय कर सप्ताह–२०८३ को अवसरमा बागलुङमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

आन्तरिक राजस्व कार्यालय बागलुङको आयोजना तथा बागलुङ उद्योग वाणिज्य संघको समन्वयमा आयोजित कार्यक्रममा जिल्लाका उद्योगी तथा व्यवसायीलाई करसम्बन्धी कानुनी व्यवस्था, कर दाखिला प्रक्रिया, कर छुट तथा पछिल्ला नीतिगत सुधारबारे जानकारी गराइएको थियो।

मंसिर १ गतेदेखि सुरु भएको राष्ट्रिय कर सप्ताहअन्तर्गत आयोजित कार्यक्रममा सहजीकरण गर्दै कर अधिकृत राजन सापकोटाले सरकारले हालै ल्याएको आर्थिक विधेयक, २०८३ मार्फत करको दायरा विस्तार, नयाँ राजस्वका प्रावधान तथा विभिन्न कर छुटका व्यवस्था गरेको जानकारी दिनुभयो।

उहाँले आन्तरिक राजस्व कार्यालय बागलुङबाट पनि विभिन्न शीर्षकमा राजस्व छुटको व्यवस्था गरिएको बताउनुभयो।

विधेयकको दफा ४० मा आयकरको ब्याज तथा शुल्क मिनाहासम्बन्धी विशेष व्यवस्था रहेको उल्लेख गर्दै सापकोटाले विगतमा स्थायी लेखा नम्बर (प्यान) नलिई करयोग्य आय आर्जन गरेका व्यक्तिले प्यान लिएर आर्थिक वर्ष २०७९/८० देखि २०८२/८३ सम्मको आय विवरण २०८३ पुस मसान्तभित्र दाखिला गरेमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने जानकारी दिनुभयो।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत कपिल सिलवालले कर तिर्नु प्रत्येक नागरिकको दायित्व मात्र नभई देश विकासको महत्वपूर्ण आधारसमेत भएको बताउनुभयो।

कर प्रशासनलाई प्रविधिमैत्री र करदातामैत्री बनाउँदै लगिएको उल्लेख गर्दै उहाँले व्यवसायीलाई समयमै कर विवरण बुझाउन, नियमित रूपमा कर दाखिला गर्न र राज्यको विकासमा योगदान पुर्‍याउन आग्रह गर्नुभयो।
अन्तरक्रियाका क्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यसहित सहभागी उद्योगी तथा व्यवसायीहरूले कर दाखिलाका क्रममा भोग्नुपरेका व्यावहारिक समस्या, मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकरसम्बन्धी नीतिगत अस्पष्टता र कर छुटका प्रावधानबारे जिज्ञासा राखेका थिए।

व्यवसायीहरूले करको दायरा विस्तारसँगै करसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन, डिजिटल कर सेवाको प्रवर्द्धन तथा बिल लिने–दिने संस्कृतिको विकासका लागि व्यापक प्रचारप्रसार र सचेतना आवश्यक रहेको धारणा राखेका थिए।

कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ सदस्य सञ्जय श्रेष्ठको अध्यक्षता, द्वितीय उपाध्यक्ष केशव ओझाको स्वागत मन्तव्य तथा महासचिव इन्द्रमणि पौडेल (अर्जुन) को सञ्चालनमा सम्पन्न भएको थियो।

अन्तरक्रिया कार्यक्रमपछि बागलुङ बजारका विभिन्न पसलमा पुगेर व्यवसायीलाई कर प्रणालीबारे जानकारी गराउनुका साथै करदाता सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।