
बागलुङ । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङको आयोजनामा जिल्लास्तरीय पोषण कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ।
दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा जिल्लाका स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा पोषण कार्यक्रमका फोकल पर्सनहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा जिल्लाको समग्र पोषण अवस्थासँग सम्बन्धित सूचकहरूको समीक्षा, पोषण कार्यक्रम सञ्चालनका क्रममा देखिएका संस्थागत तथा कार्यक्रमगत समस्या र चुनौतीबारे छलफल गरिएको थियो। साथै, आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन गरिएको पोषण लेखाजोखा अभियानबाट प्राप्त तथ्याङ्कको विश्लेषण तथा समीक्षा गरिएको थियो।

जिल्लामा कुपोषणको अवस्था न्यूनीकरण गर्दै बालबालिका, किशोरकिशोरी, गर्भवती तथा सुत्केरी महिलालगायत लक्षित समुदायको पोषण अवस्था सुधार गर्ने उद्देश्यले आगामी आर्थिक वर्षका लागि पोषण केन्द्रित योजना तथा कार्यक्रमसमेत तर्जुमा गरिएको कार्यालयले जनाएको छ।

कार्यक्रमको सहजीकरण प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका जनस्वास्थ्य प्रशासक प्रवीण शर्मा र जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले गरेका थिए। कार्यालयका तथ्याङ्क अधिकृत घनश्याम सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रममा जनस्वास्थ्य प्रशासक शर्माले जिल्लाको समग्र पोषण अवस्था सुधारका लागि जनस्वास्थ्यको दृष्टिकोणबाट अवलम्बन गर्नुपर्ने रणनीति, प्राथमिकता र आवश्यक क्रियाकलापबारे सुझाव दिएका थिए।

पोषणसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तह र स्वास्थ्य संस्थाबीच समन्वय, नियमित अनुगमन तथा तथ्याङ्कमा आधारित योजना निर्माण आवश्यक हुने भएकाले यस्ता समीक्षा तथा योजना तर्जुमा कार्यक्रमले आगामी दिनमा पोषण सुधारका कार्यक्रमलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।










