
काठमाडौं । नेपाल सरकार, गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) को गतिविधि अर्को निर्णय नभएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ।
गृह मन्त्रालयले २०८३ कात्तिक १३ गते सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम दर्ता तथा स्वीकृति लिएर सञ्चालनमा रहेको एन–प्याब्सनले मन्त्रालयबाट जारी निर्देशन पटक–पटक पालना नगरेको जनाएको छ।
मन्त्रालयका अनुसार संस्थाले स्वीकृत विधान तथा संगठनको मूल उद्देश्यविपरीतका गतिविधिसमेत सञ्चालन गरेको पाइएको छ। यस विषयमा मन्त्रालयले २०८३ असार २३ गते सम्बन्धित पक्षसँग छलफल गरी राष्ट्रिय निर्देशन ऐन तथा मन्त्रालयबाट जारी निर्देशनअनुसार काम गर्न आग्रह गरेको थियो।
तर, पटक–पटक निर्देशन दिँदासमेत पालना नभएको भन्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिमको निर्देशन कार्यान्वयन नगरेको ठहर गर्दै ऐनको दफा ६ को उपदफा (२) अनुसार एन–प्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयले सार्वजनिक गरेको सूचनामा निलम्बन अवधिमा संस्थाको नाममा कुनै समूह वा गुटबाट हुने गतिविधि गैरकानुनी हुने र प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।
मन्त्रालयको यो निर्णयसँगै निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको संगठन एन–प्याब्सनको संस्थागत गतिविधि र आगामी कार्यदिशाबारे चासो बढेको छ।










