सुरुङमार्गमा गति, बलम्बु–गुर्जुधारामा जामको सास्ती : समाधान खोइ?

-


     इन्जिनियर रमेश सुवेदी     
     कार्तिक १३ गते २०८३ मा प्रकाशित


काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं प्रवेशका लागि यातायातको नयाँ विकल्प थपिएको छ। तर, यसको सञ्चालनसँगै त्रिभुवन राजपथअन्तर्गत बलम्बु–गुर्जुधारा सडकखण्डमा बढ्दो सवारी चाप र ट्राफिक जामले नयाँ चुनौतीसमेत सिर्जना गरेको छ।

सुरुङमार्गबाट बलम्बुमा निस्कने सवारीसाधन, विभिन्न जिल्ला तथा गन्तव्यतर्फ जाने सार्वजनिक यातायात र स्थानीय सवारीसाधनको चापका कारण यस सडकखण्डमा आवागमन असहज बन्दै गएको छ। दैनिक कार्यालय जाने कर्मचारी, विद्यार्थी, बिरामी बोकेका एम्बुलेन्स तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनसमेत समयमै गन्तव्यमा पुग्न नसक्ने अवस्था सामान्य समस्या होइन।

यसको अर्को गम्भीर पक्ष पनि छ। सुरुङमार्ग सञ्चालनसँगै साबिक थानकोट क्षेत्रका बस्तीहरू विकासको नयाँ अवसरसँग जोडिनुपर्ने हो। तर, कतिपय स्थानीयले आफ्नो क्षेत्र विकासको मूल प्रवाहबाट ओझेलमा पर्दै गएको अनुभूति गर्न थालेका छन्।

सुरुङमार्गको प्रभाव सुरुङभित्रको यातायात व्यवस्थापनमा मात्र सीमित हुँदैन। यसले आसपासका सडक, सार्वजनिक यातायात, स्थानीय आवागमन, आर्थिक गतिविधि र समग्र क्षेत्रीय विकासमा समेत प्रत्यक्ष प्रभाव पार्छ। त्यसैले सुरुङमार्ग सञ्चालनसँगै उत्पन्न हुने चुनौतीको पूर्वआकलन, प्रभावकारी व्यवस्थापन र स्थानीय आवश्यकताप्रतिको संवेदनशीलता उत्तिकै महत्त्वपूर्ण हुन्छ।

यस सन्दर्भमा त्रिभुवन राजपथअन्तर्गत बलम्बु, गुर्जुधारा र साबिक थानकोट क्षेत्रको यातायात व्यवस्थापन, स्थानीय सडक सञ्जालको विस्तार तथा सुधार, सार्वजनिक यातायातको रुट व्यवस्थापन र सन्तुलित क्षेत्रीय विकासलाई प्राथमिकतामा राख्न आवश्यक छ।

अब प्रश्न उठ्छन्—सुरुङमार्ग सञ्चालनपछि बढेको सवारी चाप व्यवस्थापन गर्न के तयारी गरिएको छ? स्थानीय नागरिकले सुरुङमार्गबाट सिर्जित अवसर र सुविधाको लाभ कसरी प्राप्त गर्ने?

बलम्बु–गुर्जुधारा सडकखण्डको जाम न्यूनीकरण गर्न तत्काल के गर्न सकिन्छ? आपत्कालीन सवारीसाधनको निर्बाध आवागमन कसरी सुनिश्चित गर्ने? र साबिक थानकोट क्षेत्रलाई विकासको मूल प्रवाहसँग कसरी जोड्ने?

यी प्रश्नको जवाफ खोज्न सम्बन्धित सरकारी निकाय, स्थानीय सरकार, ट्राफिक प्रहरी, सडक तथा सुरुङमार्ग आयोजना र स्थानीय सरोकारवालाबीच तथ्यमा आधारित छलफल र प्रभावकारी समन्वय आवश्यक छ। समस्या पहिचान गरेर मात्र पुग्दैन, त्यसको समाधानका लागि स्पष्ट योजना, जिम्मेवारी र कार्यान्वयनको सुनिश्चितता पनि चाहिन्छ।
ढिलाइ भइसकेको छ, तर सुधारका सम्भावना अझै बाँकी छन्।

सुरुङमार्गको सफलता यात्रा समय घट्नुमा मात्र सीमित हुनु हुँदैन। स्थानीय नागरिकको दैनिक जीवन सहज बनाउनु, आपत्कालीन सेवाको पहुँच सुनिश्चित गर्नु, यातायात व्यवस्थापन प्रभावकारी बनाउनु र आसपासका बस्तीको सन्तुलित विकासमा योगदान पुर्‍याउनु पनि यसको सफलताका महत्त्वपूर्ण आधार हुन्।

अब समस्याको चर्चा मात्र होइन, ठोस समाधानको खोजी, सार्वजनिक बहस र नीतिगत पैरवीलाई प्राथमिकता दिऔँ। सुरुङमार्गले गति पाउँदा स्थानीय सडकले दुर्गति भोग्नुपर्ने अवस्था अन्त्य गर्नु सम्बन्धित सबै निकायको साझा जिम्मेवारी हो।