अवैध ढुङ्गा उत्खनन र ओसारपसारमा प्रयोग भएको टिपर नियन्त्रणमा

-


     हिडन खबर    
     कार्तिक १४ गते २०८३ मा प्रकाशित


बागलुङ । बागलुङमा अवैध रूपमा ढुङ्गा उत्खनन तथा ओसारपसारमा संलग्न टिपर प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार असोज २३ गते बागलुङ नगरपालिका–१, मालढुङ्गास्थित प्रहरी चौकीले नियमित सवारीसाधन जाँच गर्ने क्रममा ताराखोलाबाट पोखरातर्फ जाँदै गरेको ग१ख ३१९ नम्बरको टिपर नियन्त्रणमा लिएको हो।

टिपरमा ठूलो परिमाणमा स्लेट ढुङ्गा लोड गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले जाँच गर्दा अवैध रूपमा ढुङ्गा उत्खनन तथा ओसारपसार गरिएको पाइएपछि आवश्यक कानुनी कारबाहीका लागि टिपरलाई नियन्त्रणमा लिई बागलुङ नगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

अवैध उत्खनन तथा ओसारपसारमा संलग्न टिपरलाई नगरपालिकाले ३ हजार रुपैयाँ जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयले प्राकृतिक स्रोतसाधनको अवैध दोहन नियन्त्रण गर्न तथा गैरकानुनी गतिविधिमा संलग्न सवारीसाधनमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।