
काठमाडौँ । बंगालको खाडीमा विकसित चक्रवात ‘अनिब’को प्रभावका कारण कार्तिक १२, १३ र १४ गते गरी लगातार तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, हिमआँधीको जोखिम हुन सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
सम्भावित प्रतिकूल मौसमलाई ध्यानमा राख्दै किसानलाई धानबाली काट्ने र भित्र्याउनेलगायतका कृषि कार्य कार्तिक १२ गतेभित्रै सम्पन्न गर्न, उच्च पहाडी तथा हिमाली क्षेत्रमा अनावश्यक यात्रा नगर्न र मौसम प्रतिकूल हुँदा सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
भारी वर्षा, हिमपात र हिमआँधीका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले अत्यावश्यकबाहेकका यात्रा नगर्न र सम्बन्धित निकायबाट जारी हुने सूचनाको पालना गर्न प्राधिकरणले अनुरोध गरेको छ।
स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई जोखिमयुक्त स्थानमा रहेका नागरिकको सुरक्षाका लागि आवश्यक तयारी गर्न, पूर्वसूचना तथा चेतावनी समयमै प्रवाह गर्न र विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ।
प्राधिकरणले मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न र सम्भावित जोखिमलाई बेवास्ता नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
सन्देश : कार्तिक १२, १३ र १४ गते तीन दिनसम्म मौसमको अवस्था बुझेर मात्र यात्रा गरौँ। जोखिमयुक्त स्थानबाट टाढा रहौँ, आधिकारिक चेतावनीको पालना गरौँ र आफ्नो तथा परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिऔँ।










