जन्मदिनमा सुनिता परियारद्वारा मानवसेवा आश्रममा भोजन सेवा

-


     हिडन खबर    
     कार्तिक १३ गते २०८३ मा प्रकाशित


बागलुङ । जन्मदिनलाई सामाजिक सेवा र मानवीय कार्यसँग जोड्दै काठेखोला गाउँपालिका–तंग्राम घर भई हाल अमेरिकामा बसोबास गर्दै आउनुभएकी सुनिता परियारले मानवसेवा आश्रममा बिहानको भोजन सेवा प्रदान गर्नुभएको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति बागलुङकी पूर्वसदस्य परियारले आफ्नो जन्मदिनको अवसरमा आश्रममा आश्रित लक्ष्मीनारायण तथा बालगोपालहरूका लागि भोजन सेवा अर्पण गर्नुभएको हो।

व्यक्तिगत खुसीलाई सामाजिक सेवासँग जोड्दै असहाय तथा सहयोगापेक्षी व्यक्तिहरूको सेवामा समर्पित उहाँको यस कार्यले मानवीय सेवाभाव र सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश दिएको छ।

भोजन सेवा कार्यक्रममा सरस्वती खड्का परियार र कल्पना सापकोटाको समेत उपस्थिति रहेको थियो।
मानवसेवा आश्रमले जन्मदिनको अवसरमा सेवा प्रदान गर्नुभएकोमा सुनिता परियारसहित सम्पूर्ण परियार परिवारप्रति आभार व्यक्त गरेको छ। जन्मदिनजस्ता विशेष अवसरमा गरिने यस्ता मानवीय कार्यले समाजमा परोपकार, सद्भाव र सहयोगको भावना अभिवृद्धि गर्न प्रेरणा मिल्ने आश्रमको विश्वास छ।

जन्मदिनलाई भोजभतेर र व्यक्तिगत उत्सवमा मात्र सीमित नराखी मानव सेवामा समर्पित गर्ने परियारको प्रयासले ‘सेवा नै धर्म हो, मानवता नै सबैभन्दा ठूलो सम्पत्ति हो’ भन्ने सन्देश प्रवाह गरेको छ।

यस अवसरमा सुनिता परियारलाई सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरिएको छ।