मध्यपहाडी लोकमार्गलाई ‘रिभर्स माइग्रेसन’को आधार

-


     सुजन आचार्य     
     कार्तिक १० गते २०८३ मा प्रकाशित


बागलुङ, कात्तिक ९ । बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुशील खड्काले पहाडी क्षेत्रबाट भइरहेको बसाइँसराइ न्यूनीकरण गरी नागरिकलाई गाउँमै फर्कने वातावरण बनाउन मध्यपहाडी लोकमार्गलाई ‘रिभर्स माइग्रेसन’को आधार बनाउने बताएका छन्।

सोमबार जैमिनी नगरपालिका–५, बिनामारेस्थित वडा कार्यालयमा जनप्रतिनिधि तथा स्थानीयवासीसँगको अन्तरक्रियामा बोल्दै सांसद खड्काले स्थानीय विकासका मागलाई संघीय सरकारको प्राथमिकतामा पार्न पहल गर्ने प्रतिबद्धता जनाए।

उनले मध्यपहाडी लोकमार्ग र सहायक सडक आसपास आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण तथा शिक्षा, स्वास्थ्य र पर्यटन पूर्वाधार विकासमार्फत गाउँमै बस्ने वातावरण बनाउनुपर्ने बताए। सडक, खानेपानी, सिँचाइ, वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण र विकासका कानुनी जटिलता समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने उनको भनाइ थियो।

कार्यक्रममा वडा अध्यक्ष ठगबहादुर क्षेत्री थापाले जैमिनी–रिठेडाँडा, माइकाथान र हाँडिकोट सडक स्तरोन्नति, कुश्मीशेरा–बिनामारे सडक कालोपत्रे तथा कालीगण्डकी करिडोरसँग जोड्ने पहुँचमार्ग सुधारका लागि संघीय बजेट माग गरे।

त्यसैगरी, पर्यटकीय गन्तव्यको विकास, लिफ्टिङ खानेपानी, सिँचाइ, खेलमैदान निर्माण, स्वास्थ्य चौकी र वडा कार्यालयको पूर्वाधार विस्तारमा सहयोग गर्न आग्रह गरे। स्थानीयवासीले बाँदरलगायत वन्यजन्तुबाट हुने कृषि क्षति न्यूनीकरण, सामुदायिक विद्यालयको सुधार, स्वास्थ्य सेवामा आवश्यक उपकरण तथा जनशक्ति र भरपर्दो सञ्चार सेवाको व्यवस्था गर्न माग गरेका थिए।

वडा अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, कर्मचारी तथा स्थानीयवासीको सहभागिता थियो।