
बागलुङ । जैमिनी नगरपालिकाका युवाहरूले आगामी मङ्सिरमा जैमिनी युवा सम्मेलन आयोजना गर्ने निर्णय गरेका छन्।
जैमिनीका केही युवाहरूबीच भएको भेटघाट तथा छलफलबाट सम्मेलन आयोजना गर्ने निर्णय गरिएको हो। जैमिनी क्षेत्रका सबै युवालाई समेटेर आपसी एकता, सहकार्य र भाइचाराको भावना विकास गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको बताइएको छ।
सम्मेलनमार्फत युवाहरूको क्षमता, सिर्जनशीलता र नेतृत्व विकास गर्नुका साथै स्थानीय विकास तथा सामाजिक कार्यमा उनीहरूको सक्रिय सहभागिता बढाउने लक्ष्य राखिएको छ। साथै, जैमिनीको समग्र विकासमा युवाहरूको भूमिका प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिने अपेक्षा गरिएको छ।
आगामी मङ्सिरमा आयोजना हुने सम्मेलनमा जैमिनीका विभिन्न वडा, क्षेत्र र समुदायमा रहेका युवाहरूलाई सहभागी गराउने लक्ष्य राखिएको छ।
युवाहरूलाई एकताबद्ध गर्दै उनीहरूको शक्ति, सीप र सम्भावनालाई समृद्ध जैमिनी निर्माणमा उपयोग गर्ने उद्देश्य सम्मेलनले लिएको छ।









