
टोकियो। बलेवा सेवा समाज जापानको आयोजनामा बडादशैँ, तिहार, छठ पर्व तथा नेपाल संवत् ११४६ को अवसरमा शुभकामना आदानप्रदान, सम्मान तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ।
जापानको टोकियोस्थित कामातामा रहेको चिनो भान्छा घरमा आयोजित कार्यक्रममा बागलुङको गल्कोटमा जन्मिएकी तथा बलेवाकी बुहारी चर्चित लोकदोहोरी गायिका सीता परियारलाई सम्मान गरिएको थियो।
परियारको सांगीतिक प्रस्तुतिले कार्यक्रममा सहभागीलाई मनोरञ्जन प्रदान गर्नुका साथै माहोललाई थप उत्साहित बनाएको थियो।
कार्यक्रममा सोनाली परियार र दिया पाठककी नानीले नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै, समाजका अध्यक्ष सुरेन्द्र पौडेल (प्रेम) र महासचिव रोशन चापागाईँले गायिका परियारसँग दोहोरी गाएर सहभागीलाई मनोरञ्जन दिएका थिए।
कार्यक्रममा संस्थाका संस्थापक, संरक्षक, सल्लाहकार, कार्यसमिति सदस्य तथा जापानमा रहेका नेपालीहरूको सहभागिता थियो। कोषाध्यक्ष दीपकराज पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासचिव रोशन चापागाईँले गरेका थिए। कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष, संरक्षक तथा अध्यक्ष पौडेलले चाडपर्वको शुभकामना व्यक्त गरेका थिए।
समाजले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै देशमा शोकको अवस्था रहेकाले चाडपर्व तडकभडकभन्दा सादगीपूर्ण रूपमा मनाउन आग्रह गरेको छ। साथै, प्रवासमा नेपाली कला, संस्कृति, परम्परा र आपसी सद्भावको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ।
समाजले दशैँ, तिहार, छठ पर्व तथा नेपाल संवत् ११४६ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै देशमा शान्ति, स्थिरता र समृद्धिको कामना गरेको छ।










