बागलुङ कारागारमा दशैँको खुसी बाँड्दै उद्योग वाणिज्य संघ, कैदीबन्दीलाई खसी उपहार

-


     सुवास आचार्य     
     कार्तिक २ गते २०८३ मा प्रकाशित


बागलुङ, कात्तिक १। बागलुङ उद्योग वाणिज्य संघले विजयादशमीको अवसरमा जिल्ला कारागार बागलुङमा रहेका कैदीबन्दीलाई खसी र चिउरा उपहार दिएको छ।

संघले आइतबार कारागारमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी कैदीबन्दीका लागि एक थान खसी र चिउरा हस्तान्तरण गरेको हो।

कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले चाडपर्वले सबैमा खुसी, सद्भाव र भाइचाराको भावना बढाउने बताउनुभयो। परिवारबाट टाढा रहेका कैदीबन्दीलाई पनि चाडपर्वको अनुभूति गराउन संघले गरेको सहयोग प्रशंसनीय रहेको उहाँको भनाइ थियो।

संघका अध्यक्ष राजनकुमार शाक्यले कारागारमा रहेका कैदीबन्दीलाई दशैँका अवसरमा खुसी बाँड्ने उद्देश्यले खसी उपहार दिइएको बताउनुभयो। उहाँले २०५४ सालदेखि सुरु भएको खसी उपहार दिने परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको जानकारी दिनुभयो।
संघको सहयोगले कैदीबन्दीलाई दशैँ मनाउन सहज हुने विश्वास गरिएको छ।

कार्यक्रमको सञ्चालन संघका महासचिव इन्द्रमणि पौडेल ‘अर्जुन’ले गर्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो।