
पर्वत, कात्तिक ३ । पर्वतको जलजला गाउँपालिका–७, बास्बोटमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको देउराली मन्दिर पुनर्निर्माण गरिएको छ। स्थानीयवासी, प्रवासमा रहेका बास्बोटवासी र जलजला गाउँपालिकाको संयुक्त आर्थिक सहयोगमा मन्दिर पुनर्निर्माण सम्पन्न भएको हो।
मन्दिर पुनर्निर्माणका लागि स्थानीय तथा प्रवासमा रहेका बास्बोटवासीबाट ९ लाख रुपैयाँ र जलजला गाउँपालिकाबाट ९ लाख रुपैयाँ गरी कुल १८ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो।

लस्ती–बास्बोट–घाखेत सडक निर्माणका क्रममा जोखिममा परेको ऐतिहासिक मन्दिरको संरक्षण गर्ने उद्देश्यले पुनर्निर्माण अभियान सञ्चालन गरिएको हो।
सडकका कारण मन्दिर जोखिममा परेपछि यसको संरक्षणका लागि स्थानीयस्तरमा सहयोग सङ्कलन सुरु गरिएको थियो। गाउँपालिकाले मन्दिर संरक्षणका लागि सडकको कुनामा रिटेनिङ वाल निर्माण गर्नसमेत आर्थिक सहयोग गरेको थियो।
स्थानीयवासी, प्रवासमा रहेका बास्बोटवासी तथा विभिन्न स्थानका धर्मप्रेमी व्यक्तिहरूको सहयोगमा मन्दिर पुनर्निर्माण गरिएको आर्थिक सङ्कलन अभियानका संयोजक रामकुमार पौडेलले बताए।
मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि कात्तिक ३ गते विशेष कार्यक्रम आयोजना गरी विधिपूर्वक सेवापूजा गरिएको थियो।
कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले देउराली मन्दिर स्थानीय समुदायको आस्था र विश्वाससँग जोडिएको धार्मिक तथा ऐतिहासिक सम्पदा भएको बताए। उनले यस्ता सम्पदाले स्थानीय परम्परा, संस्कृति र मौलिक पहिचान जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै मन्दिर पुनर्निर्माणले धार्मिक गतिविधिको निरन्तरता र सांस्कृतिक परम्पराको संरक्षणमा सहयोग पुग्ने धारणा व्यक्त गरे।
जलजला गाउँपालिका–७ का वडाध्यक्ष टुङ्गना आचार्यले स्थानीय तथा प्रवासमा रहेका बास्बोटवासी र गाउँपालिकाको सहकार्यले ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणमा सामूहिक प्रयासको महत्त्व देखाएको बताए। उनले जन्मभूमिप्रतिको लगाव र सामाजिक उत्तरदायित्वका कारण गाउँवासीले आर्थिक सहयोग जुटाएको उल्लेख गरे।
सर्वसिद्धिधाम पञ्चकोटका अध्यक्ष जगन्नाथ आचार्यले स्थानीय समुदाय, प्रवासी बास्बोटवासी र गाउँपालिकाबीचको सहकार्यले धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणमा सकारात्मक सन्देश दिएको बताए।
कार्यक्रममा वडा सदस्य लक्ष्मी आचार्य, समाजसेवी युवा मनोहर आचार्य तथा स्थानीय हिमालप्रसाद आचार्य र रमेश आचार्यले मन्तव्य व्यक्त गरेका थिए।
बास्बोट देउराली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्कल आचार्यको अध्यक्षता, उपाध्यक्ष रामकुमार पौडेलको स्वागत र सचिव कमलनयन आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।










