बागलुङमा क्षयरोग कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा

-


     हिडन खबर    
     कार्तिक १ गते २०८३ मा प्रकाशित


बागलुङ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा क्षयरोग कार्यक्रमको कोहोर्ट विश्लेषण तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ।

असोज २९ र ३० गते सञ्चालन भएको कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ र २०८३/८४ मा हालसम्म पहिचान भएका क्षयरोगका बिरामीको अवस्थाबारे समीक्षा तथा विश्लेषण गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले बिरामीको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए। साथै, जिल्लाभरको समग्र अवस्थाको समीक्षा गर्दै आगामी दिनमा क्षयरोग नियन्त्रण कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न आवश्यक योजना तयार गरिएको थियो।

कार्यक्रममा क्षयरोगको रोकथाम तथा उपचारका क्रममा देखिएका समस्या, चुनौती र सम्बन्धित निकायको जिम्मेवारीबारे छलफल गरिएको थियो।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख जनस्वास्थ्य प्रशासक प्रविण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनस्वास्थ्य अधिकृत टीकाराम भण्डारीले स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो। कार्यक्रमको सञ्चालन क्षयकुष्ठ अधिकृत देवप्रकाश घिमिरेले गर्नुभएको थियो।कार्यक्रमको अन्त्यमा सहभागीबीच २०८३ सालको बडादसैँको शुभकामना आदानप्रदान गरिएको थियो।