
बागलुङ, असोज ३० । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङले स्वास्थ्य सूचना प्रणालीसम्बन्धी तीनदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

परिमार्जित स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (HMIS) तथा eHMIS/DHIS2 सम्बन्धी तालिममा बागलुङका १० वटै स्थानीय तहका २२ जना कर्मचारीसहित प्रदेश जनस्वास्थ्य कार्यालयका कर्मचारी सहभागी थिए।

नयाँ नियुक्ति भएका, यसअघि तालिम लिन छुटेका तथा स्वास्थ्य सूचना प्रणालीको डिजिटलाइजेसनमा संलग्न कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यालयले जनाएको छ।

कार्यक्रममा कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक प्रविण शर्माले स्वास्थ्य सेवासम्बन्धी तथ्याङ्कको अभिलेखीकरण, विश्लेषण र प्रतिवेदनका लागि HMIS तथा eHMIS/DHIS2 को प्रभावकारी प्रयोग आवश्यक रहेको बताउनुभयो। उहाँले स्वास्थ्य तथ्याङ्कको उपयोगले योजना निर्माण, स्रोत परिचालन, अनुगमन तथा मूल्याङ्कनलाई तथ्यमा आधारित बनाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो।

तीनदिने कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्मा र लक्ष्मण ढकालले गर्नुभएको थियो। कार्यक्रममा तथ्याङ्क अधिकृत घनश्याम सापकोटा र जनस्वास्थ्य अधिकृत टिकाराम भण्डारीले स्वास्थ्य तथ्याङ्कको गुणस्तर तथा समयमै प्रतिवेदन गर्ने विषयमा सहजीकरण गर्नुभएको थियो।

सहभागीका तर्फबाट संगित थापा मगरले तालिमबाट प्राप्त ज्ञान र सीपलाई कार्यक्षेत्रमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तालिमबाट स्वास्थ्य सूचना प्रणालीको प्रयोग, तथ्याङ्कको गुणस्तर सुधार र समयमै प्रतिवेदन गर्ने अभ्यास प्रभावकारी हुने अपेक्षा गरिएको छ।











