
बागलुङ । जैमिनी नगरपालिका–१, पोखरीमा गएको पहिरोले करिब ६ हल खेत पुरेको छ। खेतीयोग्य जमिनमा क्षति पुगेपछि स्थानीय किसान चिन्तित बनेका छन्।
स्थानीयका अनुसार असोज १० वा ११ गते गएको पहिरोले खेत पुरेको हो। वर्षभरि मेहनत गरेर उत्पादन गर्ने जमिनमा क्षति पुगेपछि कृषि उत्पादन र जीविकोपार्जनमा असर पर्ने चिन्ता बढेको उनीहरूले बताएका छन्।
पहिरोबाट क्षति पुगेको लामो समय बितिसक्दा पनि नगरपालिकाका जनप्रतिनिधि तथा सम्बन्धित निकायबाट स्थलगत निरीक्षण नभएको स्थानीयको गुनासो छ। उनीहरूले क्षतिको वास्तविक विवरण संकलन गरी प्रभावित किसानलाई आवश्यक सहयोग उपलब्ध गराउन माग गरेका छन्।
पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण, क्षतिको मूल्याङ्कन र थप जोखिमको पहिचान गरी आवश्यक पहल गर्न स्थानीयले नगरपालिकाको ध्यानाकर्षण गराएका छन्।











