जन्मदिनमा दुई क्यान्सरपीडितलाई २० हजार रुपैयाँ सहयोग

-


     हिडन खबर    
     असाेज २७ गते २०८३ मा प्रकाशित


काठमाडौं, असोज २७
लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमालले आस्था भट्टको जन्मदिनको अवसरमा दुई जना क्यान्सरपीडितलाई आर्थिक सहयोग गरेको छ।

क्लबकी सचिव लायन पुष्पाञ्जली वाग्लेकी सुपुत्री आस्थाको जन्मदिनका अवसरमा मानवीय सेवाको भावनासहित दुवै क्यान्सरपीडितलाई जनही १० हजार रुपैयाँका दरले कुल २० हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ निवासी ५४ वर्षीय घाँटीको क्यान्सरबाट पीडित रामबहादुर खड्कालाई उपचारका लागि १० हजार रुपैयाँ सहयोग गरिएको छ। त्यस्तै, धादिङकै नेत्रावती डबजोङ गाउँपालिका–१, राम्चे निवासी तथा भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत सुशीला बरुवाललाई पनि १० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको क्लबले जनाएको छ।

जन्मदिनलाई उत्सवमा मात्र सीमित नराखी दुःख र पीडामा रहेका व्यक्तिको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले मानवीय सेवाको कार्य गरिएको क्लबले जनाएको छ।

क्लबका अध्यक्ष लायन रुपेश रोकाहाले यस मानवीय कार्यका लागि आस्था भट्ट र उनको परिवारप्रति आभार व्यक्त गर्दै आस्थालाई जन्मदिनको शुभकामना दिएका छन्। उनले आस्थाको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र उज्ज्वल भविष्यको कामना गरेका छन्।

सहयोग कार्यमा साथ दिने सम्पूर्ण लायन सदस्य तथा समन्वयमा भूमिका निर्वाह गर्ने क्लबका कोषाध्यक्ष लायन भवनाथ अधिकारी (बीएन अधिकारी) प्रति पनि अध्यक्ष रोकाहाले धन्यवाद व्यक्त गरेका छन्।

‘हामी सेवा गर्छौँ’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै गरिएको यस सहयोगले मानवता, करुणा र परोपकारको सन्देश दिएको छ।