
छानबिन नसकिँदासम्म औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन
काठमाडौं, असोज २७
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारसँग सम्बन्धित सार्वजनिक भएका समाचार तथा आरोपबारे आन्तरिक छानबिन गर्ने भएको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यले २०८३ असोज २७ गते जारी गरेको प्रेस विज्ञप्तिमा महिलाको मर्यादामा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनसम्बन्धी विषय गम्भीर र संवेदनशील रहेको उल्लेख गरेका छन्।
उक्त विषयको सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन अघि बढाउन निर्देशन दिइएको विज्ञप्तिमा जनाइएको छ। छानबिन प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले अनुसन्धानको निष्कर्ष नआएसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा हुने औपचारिक कार्यक्रममा सहभागी नहुनसमेत निर्देशन दिइएको छ।
रास्वपाले घटनाबारे सम्बन्धित राज्यका निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै त्यसमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। अनुसन्धान र आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चालिने पनि विज्ञप्तिमा उल्लेख छ।
कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने व्यक्तिलाई राजनीतिक संरक्षण नदिने स्पष्ट पार्दै पार्टीले विधिको शासन, सुशासन र जवाफदेहिताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।










