बाढीपीडित पाँच विद्यार्थीका परिवारलाई विद्यामन्दिर माविको राहत

-


     हिडन खबर    
     असाेज २६ गते २०८३ मा प्रकाशित


बागलुङ, असोज २६
कालीगण्डकी नदीमा आएको बाढीका कारण घरबारविहीन भएका पाँच विद्यार्थीका परिवारलाई विद्यामन्दिर माध्यमिक विद्यालयले राहत रकम हस्तान्तरण गरेको छ।

बागलुङ नगरपालिका–३ स्थित विद्यालयमा अध्ययनरत विद्यार्थीका परिवारलाई विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीबाट संकलित रकम सोमबार हस्तान्तरण गरिएको हो। पर्वतको जलजला गाउँपालिका–८, फर्सेमा असोज ११ गते आएको बाढीले उनीहरूका घर बगाएको थियो।

विद्यालयले बाढीपीडित प्रत्येक परिवारलाई १२ हजार ७४० रुपैयाँका दरले नगद सहयोग प्रदान गरेको छ। राहत पाउनेमा कक्षा १२ का आयुषा सुवेदी, रेजिना नेपाली र प्रकृति घर्ती तथा कक्षा ११ का लविसा मगर र सोनिया विकका परिवार छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठले चाडपर्वको समयमा बाढीपीडित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए। उनले बाढीपीडित विद्यार्थीको शिक्षालाई निरन्तरता दिन कक्षा ११ र १२ मा पूर्ण निःशुल्क शिक्षा प्रदान गर्ने निर्णयसमेत गरिएको जानकारी दिए।

राहत रकम ग्रहण गर्दै पीडित अभिभावकहरूले सहयोगका लागि विद्यालय परिवारप्रति आभार व्यक्त गरेका थिए। आफ्ना छोराछोरीको शैक्षिक भविष्यलाई ध्यानमा राख्दै निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेकोमा उनीहरूले विद्यालय व्यवस्थापन समिति र विद्यालय परिवारलाई धन्यवाद दिएका थिए।

राहत हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य अनुज श्रेष्ठ, निमित्त प्रधानाध्यापक मुकुन्दप्रसाद शर्मा, सहायक प्रधानाध्यापक थानेन्द्र गौतम, बिहानी इन्चार्ज शङ्कर थापा र विज्ञान इन्चार्ज कृष्ण गौतमको सहभागिता थियो।