१६ दिनपछि सञ्चालनमा आयो मालढुङ्गा पुल

-


     हिडन खबर    
     असाेज २६ गते २०८३ मा प्रकाशित


बागलुङ ।असाेज २६

बाढीले एप्रोच सडक भासिएपछि अवरुद्ध भएको मध्यपहाडी लोकमार्गअन्तर्गतको मालढुङ्गा पुल १६ दिनपछि सञ्चालनमा आएको छ। सडक मर्मत सम्पन्न भएसँगै आजदेखि पुलमा यातायात सेवा पुनः सञ्चालनमा आएको हो।

गत असोज ११ गतेको भीषण वर्षापछि कालीगण्डकी नदीमा आएको उच्च बहावले पुलको पर्वततर्फको एप्रोच सडक भासिएको थियो। त्यसपछि पुल हुँदै हुने यातायात आवागमन ठप्प भएको थियो।

पुल सञ्चालनमा आएसँगै बागलुङ सदरमुकामको सडक सम्पर्क पुनः जोडिएको छ। पुल अवरुद्ध हुँदा मध्यपहाडी लोकमार्ग हुँदै रुकुम र डोल्पातर्फ आवतजावत गर्ने यातायातसमेत प्रभावित भएको थियो।

बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले सडक मर्मत कार्यमा संलग्न सडक डिभिजन कार्यालय बागलुङ, पर्वत र पोखरा, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला समन्वय समिति बागलुङ र पर्वत, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीलगायत निकायलाई धन्यवाद व्यक्त गरेका छन्।