बागमती एरियामा लायन्स डिस्ट्रिक्ट गभर्नरको दोस्रो बैठक सम्पन्न

-


     हिडन खबर    
     असाेज २४ गते २०८३ मा प्रकाशित


काठमाडौँ, असोज २४। लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत बागमती एरियाका लायन्स क्लबहरूको सहभागितामा डिस्ट्रिक्ट गभर्नरको दोस्रो सल्लाहकार समिति बैठक शनिबार (अक्टोबर १०) काठमाडौँको बनस्थलीस्थित नमस्ते मिटिङ क्याफेमा सम्पन्न भएको छ।

जोन चियरपर्सन लायन कविता सिम्खडाको संयोजनमा आयोजित बैठकमा रिजन चियरपर्सन लायन किरण थापा तथा क्लस्टर चिफ लायन शहदेव बस्नेतले समन्वय र सहयोग गरेका थिए। बैठकमा सम्बन्धित जोनअन्तर्गतका लायन्स क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

डिस्ट्रिक्ट चिफ एक्जुकेटिभ राजनप्रसाद काप्रीका अनुसार लायन्सका नीति, नियम र सिद्धान्तअनुसार नियमित जोन बैठक तथा संस्थागत गतिविधिहरू समयमै सञ्चालन हुँदै आएका छन्। यस्ता बैठकले क्लबहरूबीचको समन्वय, नेतृत्व विकास र सेवामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

बैठकमा डिस्ट्रिक्ट ३२५ के नेपालका सचिव गणेश जिसी, कोषाध्यक्ष सिलवाल, चिफ एड्भाइजर मीनराज काफ्ले, पीआरओ–इन–चिफ सुरेन्द्रबाबु श्रेष्ठ, मिसन १.५ चिफ महाप्रसाद पाण्डेयलगायत लायन्स नेतृत्वको विशेष उपस्थिति रहेको थियो।

बैठक सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गरेकी जोन चियरपर्सन कविता सिम्खडाको नेतृत्व, व्यवस्थापन र समन्वयको प्रशंसा गरिएको छ। साथै रिजन चियरपर्सन किरण थापा र क्लस्टर चिफ शहदेव बस्नेतको सहयोग र सहकार्यप्रति आभार व्यक्त गरिएको छ।

लायन्स इन्टरनेसनलको ‘We Serve’ र ‘Leading with Purpose’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै संस्थागत सहकार्य, जिम्मेवार नेतृत्व र सेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्य बैठकले अघि सारेको छ।