
बागलुङ असाेज २४
विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा खुसी मन बागलुङको आयोजना र नेपाल प्रेस युनियन बागलुङको संयोजनमा सञ्चालित तीनदिने मनोसामाजिक सचेतना अभियान सम्पन्न भएको छ।

वास्तविक अनुभवको आवाज सुनौँ, वास्तविक परिवर्तन ल्याऔँ’ भन्ने नारासहित असोज २२ देखि २४ गतेसम्म सञ्चालित अभियानमा विपद् प्रभावित विद्यार्थी तथा शिक्षक, क्याम्पसका विद्यार्थी, युवा र सञ्चारकर्मीलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो।

अभियानको पहिलो दिन पर्वतको जलजला गाउँपालिका–१, फर्सेस्थित श्री शिव माध्यमिक विद्यालयमा बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित विद्यार्थी र शिक्षकका लागि मनोवैज्ञानिक प्राथमिक उपचार (पीएफए) तथा मनोसामाजिक सुस्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रममा खुसी मन बागलुङका अध्यक्ष नारायणप्रसाद आचार्य, सचिव योगराज कँडेल, कार्यसमिति सदस्य उमा चालिसे र सदस्य शारदा शर्मा आचार्यले तनाव व्यवस्थापन, सकारात्मक सोच र मनोसामाजिक सुस्वास्थ्यबारे सहजीकरण गरेका थिए।
बागलुङ नगरपालिकाका कार्यपालिका सदस्य ज्योति केसी विष्टले मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई स्थानीय तहले पनि प्राथमिकता दिनुपर्नेमा जोड दिएकी थिइन्।

दोस्रो दिन धौलागिरि बहुमुखी क्याम्पसमा विद्यार्थी तथा युवालाई लक्षित गरी तनाव व्यवस्थापन र डिजिटल कुलतसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा अध्ययन, परीक्षा र भविष्यप्रतिको चिन्ता व्यवस्थापन, मोबाइल तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट पर्ने असर र प्रविधिको सन्तुलित प्रयोगबारे जानकारी दिइएको थियो।

अभियानको अन्तिम दिन बागलुङका क्रियाशील पत्रकारका लागि जिम्मेवार मिडिया रिपोर्टिङ तथा मनोवैज्ञानिक प्राथमिक उपचारसम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा आत्महत्या तथा आत्महानिसम्बन्धी समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने संवेदनशीलता, पत्रकारिता आचारसंहिता, समाचारले व्यक्ति, परिवार र समुदायमा पार्ने प्रभाव तथा संकटमा परेका व्यक्तिलाई प्रारम्भिक मनोसामाजिक सहयोग प्रदान गर्ने उपायबारे छलफल गरिएको थियो। पत्रकारले आफ्नै मानसिक सुस्वास्थ्यमा ध्यान दिनुपर्ने विषयमा समेत सहजीकरण गरिएको थियो।
खुसी मन बागलुङले मानसिक स्वास्थ्यका क्षेत्रमा सचेतना, परामर्श र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। संस्थाले आगामी दिनमा पनि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी गतिविधिलाई निरन्तरता दिने जनाएको छ।










