
खोजमूलक समाचार लेख्ने दुई पत्रकारलाई वार्षिक ५० हजारका दरले लेखनवृत्ति दिइने
बागलुङ, २४ असोज
नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले खोजमूलक तथा विश्लेषणात्मक समाचार लेखनलाई प्रोत्साहन गर्न १० लाख रुपैयाँको ‘पत्रकार लेखनवृत्ति कोष’ स्थापना गरेको छ।
शाखाका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’का अनुसार पहिलो चरणमा १० लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य पूरा भएसँगै कोष सञ्चालनमा ल्याइएको हो।
२०८१ मङ्सिर २८ गते सम्पन्न शाखाको आठौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार २०८१ माघ २६ गते औपचारिक रूपमा कोष घोषणा गरिएको थियो। शाखाका पदाधिकारी तथा सदस्यहरूको योगदानबाट सुरु भएको कोषमा देशविदेशमा रहेका व्यक्ति तथा सङ्घसंस्थाले समेत सहयोग गरेका छन्।
शाखाका सचिव नारायण रिजालका अनुसार कोषको ब्याजबाट बागलुङलाई कार्यक्षेत्र बनाएर खोजमूलक समाचार लेख्ने दुई जना पत्रकारलाई जनही ५० हजार रुपैयाँका दरले लेखनवृत्ति प्रदान गरिनेछ।
कोष सञ्चालनसम्बन्धी कार्यविधि निर्माण भइरहेको र आवश्यक प्रक्रिया पूरा गरी यथाशीघ्र लेखनवृत्ति प्रदान गरिने उनले बताए। लेखनवृत्ति प्राप्त गर्ने पत्रकार छनोटका लागि विज्ञ सम्मिलित समिति गठन गरिनेछ। समितिको निर्णयका आधारमा लेखनवृत्ति प्रदान गरिने महासङ्घले जनाएको छ।
लेखनवृत्ति वितरणका लागि औपचारिक समारोह आयोजना गरिनेछ। सोही अवसरमा कोषका सहयोगदातालाई सम्मान गर्नुका साथै उनीहरूको नाम ताम्रपत्रमा अङ्कित गरिनेछ।
शाखाका अध्यक्ष राम थापा ‘अविरल’ले पत्रकारिताको गुणात्मक विकास र खोज पत्रकारिताप्रति आकर्षण बढाउने उद्देश्यले कोष स्थापना गरिएको बताए।
“सार्वजनिक सरोकारका विषयमा प्रभावकारी रिपोर्टिङ गर्ने पत्रकारलाई प्रोत्साहित गर्न कोष स्थापना गरिएको हो,” उनले भने, “यसबाट पत्रकारबीच खोजमूलक रिपोर्टिङमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास हुनेछ।”
पहिलो चरणमा १० लाख रुपैयाँको कोष स्थापना गरिए पनि यसको रकम वृद्धि गर्ने अभियान निरन्तर जारी रहने अध्यक्ष थापाले बताए। उनले पत्रकारको पेसागत हकहित संरक्षण र क्षमता अभिवृद्धिलाई महासङ्घले प्राथमिकतामा राखेको उल्लेख गरे।









