सुमन परियारको जितमा दिदी रेजिना भावुक, भनिन्– ‘यो जित लोकसंगीतकै जित हो’

-


     केपी कुमार जलन     
     असाेज २४ गते २०८३ मा प्रकाशित


बर्दिवास असाेज २४

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भाइ सुमन परियारको सफलतामा गायिका रेजिना परियारले भावुक सन्देशसहित बधाई दिएकी छन्।

सामाजिक सञ्जालमार्फत भाइलाई बधाई तथा शुभकामना दिँदै रेजिनाले सुमनको जित व्यक्तिगत सफलता मात्र नभई समग्र लोकसंगीत क्षेत्रकै जित भएको उल्लेख गरेकी छन्। उनले नयाँ जिम्मेवारी सम्हाल्दै गर्दा आफ्नो कर्तव्य नबिर्सन भाइलाई आग्रहसमेत गरेकी छन्।

‘बाबु, यो जित तिम्रो मात्र होइन, समग्र लोकसंगीत क्षेत्रकै जित हो। आफ्नो जिम्मेवारी र कर्तव्य कहिल्यै नबिर्सनू। तिम्रो खुसीमा ताली बजाउन पाउनुको आनन्द नै बेग्लै छ,’ रेजिनाले लेखेकी छन्।

भाइको सफलतामा गर्व व्यक्त गर्दै उनले सुमनलाई विश्वास गरेर अमूल्य मत प्रदान गर्ने अग्रज, समकालीन तथा अनुज कलाकारहरूप्रति पनि आभार व्यक्त गरेकी छन्।

यसैगरी, प्रतिष्ठानको नवौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित रविन लामिछाने र गण्डकी प्रदेश भूगोल सचिवमा निर्वाचित वरिष्ठ निर्देशक प्रकाश भट्टलाई पनि रेजिनाले सफल कार्यकालको शुभकामना दिएकी छन्।

रेजिनाको सन्देशमा भाइप्रतिको आत्मीयतासँगै लोकसंगीतप्रतिको सम्मान र नयाँ जिम्मेवारीप्रतिको सचेतना झल्किएको छ।