
बर्दिबास, असोज २४
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय उपाध्यक्षमा भारी मतसहित विजयी भएका गायक पुष्कल शर्माले आफूलाई विश्वास गरेर अमूल्य मत दिने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन्।
प्रतिष्ठानको नवौँ केन्द्रीय महाधिवेशनबाट निर्वाचित भएपछि शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो विजयमा साथ, सहयोग र विश्वास गर्ने सबैलाई धन्यवाद दिएका हुन्।
उनले प्रतिष्ठानका केन्द्रीय, प्रदेश, जिल्ला, उपत्यका समन्वय समिति, विदेश शाखा, संस्थापक तथा पूर्वअध्यक्षहरू, अग्रज र समकालीन कलाकार, आफन्त तथा शुभचिन्तकप्रति विशेष कृतज्ञता व्यक्त गरेका छन्।
शर्माले आफूलाई प्राप्त विश्वास र जिम्मेवारी इमानदारी तथा निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।
नेपाली लोक तथा दोहोरीगीत क्षेत्रको संरक्षण, प्रवर्द्धन र कलाकारको हकहितका लागि आफ्नो कार्यकाल प्रभावकारी बनाउने अपेक्षासहित उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।









