
लोकप्रिय लोक तथा दोहोरी गायिका टीका सानू राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय महिला सदस्यमा विजयी भएकी छन्। प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती–२०८३ अन्तर्गत भएको निर्वाचनमा उनले ६७९ मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्।
विजयी भएपछि सानूले आफूलाई विश्वास गरेर अमूल्य मत प्रदान गर्ने सम्पूर्ण प्रतिनिधिप्रति आभार व्यक्त गरेकी छन्। उनले प्राप्त मतलाई माया, विश्वास र जिम्मेवारीको प्रतीकका रूपमा लिँदै मतदाताले आफूमाथि गरेको भरोसालाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छन्।
सानूले आफ्नो विजयलाई व्यक्तिगत सफलतामा मात्र सीमित नराखी समग्र कलाकार समुदायको हित, प्रतिष्ठानको गरिमा र महिला कलाकारको सम्मानका लागि काम गर्ने बताएकी छन्। कलाकारको हकहित संरक्षण, महिला कलाकारका समस्या र आवाजलाई संस्थागत रूपमा उठाउने तथा लोक तथा दोहोरीगीत संगीतको विकासमा योगदान गर्ने उनको प्रतिबद्धता छ।
महाधिवेशन सफल बनाउन सहयोग गर्ने सातै प्रदेशका अध्यक्ष तथा पदाधिकारी, ७७ वटै जिल्लाका अध्यक्ष तथा पदाधिकारी, काठमाडौं उपत्यका समन्वय समिति, उपत्यकाअन्तर्गतका १० वटै समितिका प्रतिनिधि, संस्थापक अध्यक्ष अमर बिरही गुरुङ, संरक्षक, पूर्वअध्यक्ष, संस्थापक पदाधिकारी, केन्द्रीय समिति सदस्य, आजीवन तथा मानार्थ सदस्य, सल्लाहकार, अग्रज कलाकार र सम्पूर्ण प्रतिनिधिप्रति उनले धन्यवाद व्यक्त गरेकी छन्।
त्यसैगरी, देश तथा विदेशमा रहेर आफूलाई माया, साथ, सहयोग, हौसला र शुभकामना दिने कलाकार साथी, शुभचिन्तक तथा दर्शक–श्रोताप्रति पनि उनले कृतज्ञता व्यक्त गरेकी छन्।
सानूले मतदाताले देखाएको विश्वासको सम्मान गर्दै नयाँ जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।









