
काठमाडौं । गायक तथा प्रस्तोता राजेश बर्देवाले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन्।
लोकदोहोरी गीतसंगीतको संरक्षण, प्रवर्द्धन र कलाकारहरूको हकहितका लागि क्रियाशील बर्देवाले प्रतिष्ठानको बागलुङ जिल्ला कार्यसमिति, धौलागिरि अञ्चल कार्यसमिति तथा काठमाडौं उपत्यकाका विभिन्न समितिमा रहेर जिम्मेवारी निर्वाह गरिसकेका छन्।
उनले धौलागिरि अञ्चल कार्यसमितिको सदस्य तथा सचिव, उपत्यका समन्वय अनामनगर समितिको सचिव र प्रथम उपाध्यक्ष तथा काठमाडौं समन्वय समितिको सञ्चार प्रमुखका रूपमा काम गरेका छन्।
गायन तथा प्रस्तोताका रूपमा परिचित बर्देवाले बेलायत, हङकङ, सिंगापुर, दक्षिण कोरिया, मलेसिया, दुबई र थाइल्यान्डलगायतका देशमा सांगीतिक कार्यक्रमसमेत गरेका छन्। धौलागिरि एफएम बागलुङ, एपी वान एचडी टेलिभिजन, जुनकिरी दोहोरी र ‘द रियल आर्टिस्ट’ टिमसँगको आबद्धताले उनको सांगीतिक तथा सञ्चार क्षेत्रको यात्रालाई थप परिचित बनाएको छ।
लोकदोहोरी क्षेत्रको संस्थागत विकास, कलाकारबीच एकता र लोकसंस्कृतिको संरक्षणमा योगदान पुर्याउने उद्देश्यसहित उम्मेदवारी दिएका बर्देवाले महाधिवेशनका प्रतिनिधि तथा कलाकारहरूसँग आफ्नो पक्षमा समर्थन र मतका लागि अपिल गरेका छन्।










