
बागलुङ । चर्चित लोक तथा दोहोरी गायिका तथा सर्जक टिका सानुले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ केन्द्रीय महाधिवेशनमा महिला तर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्।
दाङको तुलसीपुरमा जन्मिएकी सानु लामो संघर्षपछि लोकदोहोरी क्षेत्रमा स्थापित नाम हुन्। करिब एक दशकदेखि गायन तथा लाइभ दोहोरीमा सक्रिय उनले सयौँ गीतमा स्वर दिएकी छन्। इन्द्रेणीलगायतका लोकप्रिय कार्यक्रममार्फत उनले दर्शक–श्रोतामाझ छुट्टै पहिचान बनाएकी छन्।
उम्मेदवारी घोषणा गर्दै सानुले लोक संस्कृति संरक्षण, स्रष्टा–कलाकारको हकहित र प्रतिष्ठानको संस्थागत सुदृढीकरणका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। नयाँ पुस्ताका कलाकारलाई अध्ययन, सिकाइ र निरन्तर मेहनतमार्फत अघि बढ्नुपर्ने उनको धारणा छ।
प्रतिष्ठानको महाधिवेशन असोज २२ देखि २४ गतेसम्म बर्दिबासमा हुँदैछ। सानुले आफ्नो उम्मेदवारीलाई सफल बनाउन सदस्य तथा प्रतिनिधिसमक्ष समर्थनको अपिल गरेकी छन्।











