
काठमाडौं, असोज २३ । बुर्तिबाङ राइजिङ क्लबले हरेक वर्ष आयोजना गर्दै आएको कोजाग्रत पूर्णिमा मेला तथा पालिका कप–२०८३ यस वर्ष ढोरपाटन नगरपालिकासँगको समन्वयमा हुने भएको छ।
क्लबले काठमाडौंको पुतलीसडकस्थित सिप एन्ड स्किलमा पत्रकार सम्मेलन गर्दै कात्तिक ९ देखि १८ गतेसम्म मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो।
मेलाको मुख्य आकर्षणका रूपमा पालिका स्तरीय पुरुष तथा वडा स्तरीय महिला भलिबल प्रतियोगिता, स्थानीय कला–संस्कृति झल्कने झाँकी तथा विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रम आयोजना गरिने क्लबका अध्यक्ष सुरज विश्वकर्माले बताए।
पुरुष भलिबल प्रतियोगिताको विजेताले ३ लाख ११ हजार १ सय ११ रुपैयाँसहित रनिङ कप प्राप्त गर्नेछ। दोस्रो हुने टोलीले २ लाख १ हजार १ सय ११ रुपैयाँ पाउनेछ।
यस्तै, वडा स्तरीय महिला भलिबलतर्फ प्रथम हुने टोलीलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित कप र दोस्रो हुने टोलीलाई ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ।
क्लबका सचिव फारम महतका अनुसार मेलामा १४ वटा विभिन्न प्रतियोगिता तथा कार्यक्रम आयोजना गरिनेछन्। खुला एकल तथा समूह नृत्य, पञ्चेबाजा, रस्साकस्सा, पुरुष तथा महिला छेलो, कृषि प्रदर्शनी, शरायँ नाच, झाँक्री नाच, स्थानीय झाँकी, खुला आमा समूह नृत्य तथा जिल्ला स्तरीय च्याम्पियनसिपलगायत कार्यक्रम मेलाका आकर्षण रहनेछन्।
स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष विश्वकर्माले बताए।
मेलाका लागि करिब ३० लाख ५९ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। मेलाबाट प्राप्त आम्दानीको २० प्रतिशत रकम निसीखोला र तमानखोलाका बाढीपीडितलाई सहयोग गरिने क्लबले जनाएको छ।
पत्रकार सम्मेलनमा नेपालका चर्चित कलाकार एवम् गायक राजेश वर्दैवा लगायतका कलाकार खेलाडीको बिशेश उपस्थिति रहेको थियो ।मेलामा देशका राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त कलाकारकाे प्रस्तुति रहने आयोजकले जनाएको छ ।












