
बागलुङ । बडिगाड गाउँपालिका–७ टुनिबोटमा बोलेरो पिकअप जीप दुर्घटना हुँदा एक वर्षीय बालकसहित पाँच जना घाइते भएका छन्।
बिहीबार दिउँसो करिब ३ः४० बजे रनसिङकिटेनीबाट शिखर हाइड्रोपावरतर्फ आउँदै गरेको प्रदेश ३–१–०२२ च ८८८५ नम्बरको बोलेरो जीप सडकबाट करिब १५० मिटर तल खसेर भीम खोलाको ढिकमा अड्किएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
दुर्घटनामा जीप चालक स्याङ्जाको गल्याङ नगरपालिका–८ का ३० वर्षीय हिमाल श्रेष्ठ, दोलखा नगरपालिका–६ का ३५ वर्षीय रमेशकुमार जिरेल, बडिगाड–७ का २० वर्षीय अमृत पाइजा, करिब २० वर्षीय सन्दिप गुरुङ र अमृत पाइजाका एक वर्षीय छोरा आरुष पाइजा घाइते भएका छन्।
घाइतेमध्ये चालक श्रेष्ठ, जिरेल, आरुष पाइजा र गुरुङको अवस्था मध्यम तथा अमृत पाइजाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय भीमगिठेबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरी उपचारका लागि बुर्तिबाङ अस्पताल पठाएको थियो। दुर्घटनाको कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तस्बिर पत्रकार दिनेश शर्मा









