दसैँअघि नै सञ्चालनमा आउँदै मालढुङ्गा पुल

-


     सुजन आचार्य     
     असाेज २२ गते २०८३ मा प्रकाशित


बागलुङ । कालीगण्डकी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त बागलुङ–पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याउने लक्ष्यसहित मर्मत कार्य तीव्र पारिएको छ।

सडक डिभिजन कार्यालय पोखराका अनुसार पुलको क्षतिग्रस्त पहुँचमार्गमा जियोब्याग र जियोग्रिड प्रविधि प्रयोग गरी चौबीसै घण्टा मर्मतको काम भइरहेको छ।
असोज ११ गते आएको बाढीले करिब १ सय १४ मिटर लामो पुलको पहुँचमार्गतर्फ करिब ३० मिटर सडक क्षति पुर्‍याएपछि मुख्य सडकबाट सवारी आवागमन रोकिएको थियो। पुल बन्द हुँदा बागलुङसँगै पर्वत तथा मध्यपहाडी लोकमार्ग हुँदै पश्चिमतर्फ जाने यात्रु र मालवाहक सवारी प्रभावित भएका छन्।

सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले दसैँअघि नै पुल सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताउनुभएको छ। यद्यपि, पुल कुन दिनदेखि नियमित रूपमा सञ्चालन हुन्छ भन्ने निश्चित मिति भने सार्वजनिक गरिएको छैन।

हाल यात्रुहरूले मालढुङ्गा–बेनी हुँदै बागलुङ तथा पर्वतको फलेवास–जैमिनीघाट हुँदै बागलुङ जाने वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्। मुख्य सडकभन्दा लामो र खर्चिलो वैकल्पिक मार्गका कारण दसैँमा घर फर्किने यात्रु तथा व्यवसायीलाई थप समस्या हुने देखिएको छ।

मालढुङ्गा पुल सञ्चालनमा आएपछि बागलुङ–पर्वतबीचको आवागमनसँगै दैनिक उपभोग्य वस्तुको ढुवानी, व्यापार–व्यवसाय र दसैँमा घर फर्किने यात्रुलाई समेत सहज हुने अपेक्षा गरिएको छ।